एस्ट्राजेनेका–अक्सफोर्ड भ्याक्सिनलाई बेलायतले अनुमति दियो

nayapatrikadaily.com

बेलायतको आधिकारिक निकायले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो भ्याक्सिन एस्ट्राजेनेका–अक्सफोर्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । यसअघि बेलायतले विश्वमै पहिलोपटक फेजर-बायोन्टेकको भ्याक्सिनलाई अनुमति दिएको थियो । यो भ्याक्सिन लगाउन थालेकोसमेत दुई साता हुन लागिसकेको छ । यो भ्याक्सिन प्रयोग गर्न अनुमति दिने पनि बेलायत पहिलो देश हो । एस्ट्राजेनेका–अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनीले यो भ्याक्सिन प्रयोगका लागि निकै सहज भएकाले ‘विश्वकै भ्याक्सिन’ बन्ने दाबी गरेको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यो भ्याक्सिन कोरोना संक्रमणका कारण उच्च जोखिममा रहेकालाई लगाइने छ । डिपार्टमेन्ट अफ हेल्थ एन्ड केयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च जोखिममा रहेका व्यक्ति तथा समूहलाई पहिलो प्राथमिकतामा राखेर भ्याक्सिनको पहिलो डोज दिइने छ ।’

यसैबीच बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ संस्करण अमेरिकामा पनि देखिएको छ । कोलोराडोका २० वर्षीय युवकमा यो भाइरस देखिएको र उनी आइसोलेसनमा रहेको कोलोराडोको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार