बाँकेमा कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

ratopati

बाँके । बाँकेमा क्वारेन्टिइन बसेकाको सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ ।

यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
“समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भने । लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक ठाउँमा मनिसहरुको भिडभाड बढेको छ । यसका कारण कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो । कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, यहाँस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएपछि जिल्लाका कर्मचारी क्षेत्रमा जोखिमको अवस्था बढेको छ ।
शनिबार मात्र कर कार्यालयका एक अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो । अहिले यी दुवै कार्यालयका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ भने कार्यालय बन्द गरिएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका कर कार्यालयका सुब्बा प्यूठान मल्लरानीका स्थायी बासिन्दा हुन् ।पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रणनीतिक योजनासहित परीक्षण प्रणालीलाई थप फराकिलो बनाएको स्रोत व्यक्ति श्रेष्ठले बताए । बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ३० जनाको उपचार भइरहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार