भारतबाट फर्कनेकाे पीडा : मोबाइलसँग साइकल साटेर स्वदेश फर्किएँ

Onlinekhabar

वीरगञ्ज । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरूलाई विभिन्न नाकाबाट स्वदेश फर्काउने कार्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भइरहेको छ।

यस्तै, वीरगञ्ज नाकाबाट बुधबार मात्रै करिब ६ सयको हाराहारीमा नेपाली स्वदेश भित्रिएका छन् । यसरी स्वदेश भित्रिनेमा पर्सा, बारालगायत २५ भन्दा बढी जिल्लाका मानिसहरू छन् । उनीहरू त्यति सहज रुपमा स्वदेश आइपुगेका भने होइनन्।

रक्सौल नाका भएर बाराको लिपानीमालका साह महम्मद आलम बुधबार वीरगञ्ज आइपुगेका थिए । वीरगञ्ज पाइला टेक्न पाउँदा उनी साह्रै खुसी देखिन्थे । स्वदेश फर्किँदा अनेकौं पीडा भोग्नु परे पनि आफ्नो मुलुक टेक्न पाउँदाको खुसी उनको अनुहारमा झल्किन्थ्यो ।

उनी भारतको मेरठमा वाटर जेड जर्काडको मेसिन बनाउने काम गर्दै आइरहेका थिए । त्यहाँ काम गरेबापत उनले मासिक १८ हजार पाउँथे । तर, लकडाउनका कारण काम बन्द हुनपुग्यो । काम बन्द भएपछि मालिकले पैसा दिन छाड्यो ।

त्यसपछि उनले घर फर्किने सोच बनाए । तर, कसरी घर फर्किने भन्ने उनले सोच्नै सकेका थिएनन् । उनले आफूले प्रयोग गर्दै आएको मोबाइलसँग साइकल साटेर घर फर्किने योजना बनाए ।

उनको त्यो सपनालाई त्यहीँकै एक युवकले पूरा गरिदिएका थिए । ती युवकले महम्मदलाई साइकल त दिने भए तर त्यसबापत उसले प्रयोग गर्दै आएको मोबाइल दिनुपर्ने शर्त राखे । महम्मदसँग कुनै उपाय थिएन । पैदल स्वेदश फर्किनु सम्भव पनि थिएन । अन्ततः उनले मोबाइलसँग साइकल साट्न बाध्य भए । त्यही साइकल चढेर उनी भारतको मेरठबाट १७ सय किलोमिटरको यात्रा गरेर वीरगञ्ज रक्सौल नाका आइपुगेका थिए ।

‘मालिकले खान पनि नदिने, पैसा पनि नदिने भएपछि के खाएर बस्ने ?’ त्यहीँका एक व्यक्तिलाई आफ्नो मोबाइल दिएँ र उसँग साइकल लिएँ । त्यही साइकल चढेर आज आफ्नै देश आइपुगेको छु ।’ उनले आफ्नो दुखेसो सुनाए । उनले अगाडि भने, ‘भोक भोकै पर्न थालेपछि घर फर्किने सोच बनाइरहेको थिएँ । त्यहीँका एक युवकले साइकल त दिन्छु भन्यो तर बदलामा मोबाइल दिनुपर्ने शर्त अघि सार्‍यो । त्यति टाढाबाट हिँडेर आउन पनि सक्ने अवस्था पनि थिएन । त्यसैले उसले भने जस्तै गरेँ ।’

‘घर-परिवारसँग कुरा गर्ने एउटै माध्यम थियो मोबाइल । त्यही मोबाइल पनि साइकलसँग साट्नुपर्दा साह्रै पीडा भयो । तर पनि मसँग कुनै उपाय थिएन । अनेक दुःख कष्ट गरेर कमाएको पैसाले किनेको थिएँ, त्यो मोबाइल । १४ हजारमा किनेको मोबाइलसँग सामान्य थोत्रो साइकलसँग साट्नु पर्‍यो,’ साइकल देखाउँदै उनले भने ।

****

अछाम घर भएका जनक विक भारतको लक्कीसेरा बिहारमा चिया बेच्थे । कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि भारत सरकारले लकडाउन आह्वान गर्‍यो । उनको काम पनि बन्द भयो ।

त्यसपछि उनका दुःखका दिन सुरु भए । जसोतसो गरेर एक महिनाअघि उनी भारत बिहारको सीमावर्ती सहर रक्सौल आइपुगे । हजारीमल धर्मशाला क्वारेन्टाइनमा बस्दा उनको मनमा उब्जिएको डर अब नेपाल छिरेपछि भने हटेको छ ।

‘क्वारेन्टाइनमा बस्दा रोगको संक्रमण हुने त्रास बढेको थियो । लामखुट्टेले टोकेर हैरान पार्थ्यो। त्यसैले रोग यहीँबाट सर्ने त्रास मनमा उब्जिरहन्थ्यो । अब भने ढुक्क भएको छु। आफ्नै देश प्रवेश गर्न पाएको छु । आफूमा रोगको संक्रमण भए पनि त्यसलाई पराजित गर्ने हिम्मत बढेको छ ।’ विकले भने । अछामकै वीरेन्द्र विक पनि लक्की शेरामा मःमः बेच्ने गर्थे । उनको पीडाको व्यथा पनि त्यस्तै थियो ।

****

वीरगञ्ज अलौका मेराजुल अन्सारी दुई महिनादेखि दिल्लीमा सिलाइको काम गर्दै आइरहेका थिए । लकडाउनले काम बन्द हुन पुग्यो। दिल्लीबाट ३५ सय भारु बस भाडा तिरेर उनी १२ दिनअघि रक्सौल आइपुगेका थिए ।

कतै अटोमा, कतै पैदल अनि कहिले अन्य गाडी चढेर पटनाबाट मोतीहारी आइपुगेकाे धादिङका गणेश सुनारले बताए । १२ दिनअघि मोतीहारीबाट सरकारी गाडी चढेर रक्सौलस्थित क्वारेन्टिनमा आएर बसेकाे उनले बताए ।

****

सुर्खेतको गुडुवाबेँसीका हरि सिंह साप्रा जिल्लामा लेमन टी बेच्थे । लकडाउनपछि उनको त्यो काम बन्द हुन पुग्यो । लकडाउन खुल्ने छाँटकाँट नदेखिएपछि उनी संक्रमणकै जोखिमका बीच स्वदेश फर्किने सोचमा पुगे। तर स्वदेश फर्किन त्यति सहज थिएन । जोखिम मोलेरै उनी स्वदेश फर्किने यात्रामा निस्किए । ‘डर मानेर के गर्ने ? घर परिवारमा समस्या छ । आफू पनि समस्यामा परेको थिएँ,’ सिंहले भने, ‘नोकरी छैन, आम्दानी छैन, चिया पिउने मान्छे छैन । त्यसैले देश फर्किन्छु भनेर आएको हो हजुर ।’

रुकुम पोखराख घर भएका अर्का एक वृद्धले भने, ‘लकडाउनका कारण काम मिलेन, खान बस्न समस्या भयो । मरे घरमै मरुँला, बाँचे घर परिवारसँगै बाँचौंला भन्ने लाग्यो, दुई सय किलोमिटर हिँडेरै यहाँसम्म आइपुगेको हुँ । ५० किलोमिटर भने अटोमा चढ्ने अवसर मिलेको थियो ।’

****

वीरगञ्ज नाकाबाट  एकैदिन ५५९ जना नेपाल भित्रिए

जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार बुधबार ३३ जिल्लाका पाँच सय ५९ जना मानिसहरू नेपाल फर्केका छन् । यसरी आएकालाई सकेसम्म सम्बन्धित स्थानीय तहमै पठाउने गरी व्यवस्थापन मिलाइएको छ । सवारी साधन व्यवस्थापन हुन नसक्दा सम्बन्धित स्थानीय तहमा पठाउन नसकेको अवस्थामा उनीहरूलाई वीरगञ्जमै क्वारेन्टिन गरिन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले घर पठाउन नसकिएकालाई ठाकुरराम बहुमुखी क्याम्पसस्थित क्वारेन्टिनमा राखिएको बताए । ‘ भारतबाट पाँच सय ५९ जनालाई नेपाल ल्यायौं । अधिकांशलाई सम्बन्धित जिल्लामा पठाएका छौं ।’ उनले भने ‘ बाँकीलाई ठाकुरराम बहुमुखी क्याम्पसस्थित क्वारेन्टिनमा बस्ने र खाने व्यवस्था मिलाएका छौं ।’

ठाकुरराम बहुमुखी क्याम्पसमा एक सय १३ जनालाई राखिसकिएको र थप जाँदै गरेकोले दुई सयको हाराहरीमा पुग्न सक्ने प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि नै भारतमा अलपत्र परेका नेपाली नेपाल भित्रिन सुरु गरेकोमा राति ९ बजेसम्म आएका थिए ।

‘राति आउँदा व्यवस्थापन गर्न कठिनाइ हुने भएकोले अब नपठाउन भनेका छौं ।’ उनले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार