कोरोना भाइरसले पनि गरिब नै मारमा

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । उनीहरुमध्ये २५ हजार बढीले ज्यान गुमाएका छन् ।

अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक पनि हो । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुले निजी र सार्वजनिक अस्पतालमा वेडसमेत पाउन सकेका छैनन् ।

गत साता अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भयो, उनलाई तत्कालै मुम्बईको मुख्य अस्पताल नानावतीको आइसोलेसन वार्डमा भर्ना गरियो । जबकी उनलाई कोरोना भाइरसका सामान्य लक्षण मात्र देखिएको थियो ।

यो घटनाले भारतमा वर्गीय विभेदको झल्को दिएको जानकारहरु बताउँछन् ।

भारतमा पछिल्लो दशक ( २००६–२०१६) मा २७ करोड मानिस गरिबीको रेखाभन्दा माथि उठेको सरकारी तथ्यांक छ । तर विश्वको सबैभन्दा धेरै आर्थिक असमानता पनि यही छ । भारतका धनाढ्य १० प्रतिशत मानिसले मुलुकको समग्र सम्पत्तिको ७७ प्रतिशत हिस्सा ओगट्ने अक्सफामको एक रिपोर्टले देखाएको छ ।

स्वास्थ्य प्रणाली बलियो छैन । त्यसमाथि अत्याधिक भिडभाड हुने सहरी क्षेत्रमा बसोबास गर्ने सात करोड ४० लाख मानिसले भौतिक दुरी कायम गर्न पनि असम्भव जस्तै छ । कोरोनाका कारण आम मानिसहरुमा जीवन र मृत्युको प्रश्न उठिरहेको छ । तर धनी मानिसहरुले सहजै स्वास्थ्य स्याहार पाइरहेका छन् । जानकारहरु भने धनी मानिसहरुले भारत, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुमा कति निर्भर छ भन्ने बुझ्नु जरुरी रहेको बताउँछन् ।

भारतीय श्रमिकहरुमध्ये बहुसंख्यक अनौपचारिक क्षेत्रमा काम गर्छन् । एक अर्ब ३० करोड जनसंख्यामा करिब ६० प्रतिशत गरिब रहेको अनुमान छ र गरिबमध्ये करिब २१ प्रतिशतले दैनिक दुई डलरमा जीवनयापन गर्दै आएका छन् । उनीहरु दक्षता नभएको वा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको रुपमा काम गरिरहेका छन् । मुख्य सहरहरुमा उनीहरु रिक्सा चलाउने, तरकारी बेच्ने, सडक सरसफाइ, सामान डेलिभरी र घरेलु कामदारका रुपमा काम गर्छन् ।

यसरी काम गर्नेहरुलाई मानिसकै रुपमा नहेर्ने गरेको भारतीय मानव अधिकारकर्मी हर्ष मण्डेर बताउँछन् । उनीहरुलाई आफ्नो जीवन सहज बनाउन सस्तो मूल्यमा पाइने श्रमिकको रुपमा मात्र हेर्ने गरिएको उनको भनाइ छ ।

जब सहयोग रोकिन्छ…

धेरै भारतीयहरु आफ्नो कामको लागि अर्को मानिसमा धेरै नै निर्भर हुने गरेको जानकारहरु बताउँछन् ।

लकडाउनका कारण यो पटक घरको काम गर्ने, खाना पकाउने, सफाइ गर्ने, सवारी चलाउने र बगैँचाको काम गर्ने मानिसमा आश्रित धेरै मध्य र उच्च वर्गका भारतीयहरुले आफ्नो खाना आफैं पकाउने, घरको सफा गर्ने र फोहोर सफा गर्ने काम गरे । उनीहरुले यो काम गर्ने मानिसहरुको महत्व बुझ्ने अपेक्षा छ ।

भारतको युवा र शिक्षासम्बन्धी काम गर्ने एक गैरनाफामूलक संस्थाकी संस्थापक वेदिका अग्रवाल महामारीले मानिसहरुको आँखा खोलिदिएको बताउँछिन् । यो महामारीले गरिब तथा निम्न आय भएका मानिसहरुले दैनिक रुपमा कस्तो किसिमको संघर्ष गर्छन् भन्ने स्पष्टरुपमा देखाएको वेदिकाको ठहर छ ।

अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरुलाई सामाजिक सुरक्षा कार्यक्रमको लाभ पनि निकै कम मात्र मिल्छ । साथै उनीहरुलाई जस्तो अवस्थामा पनि दैनिक काममा जानुपर्ने बाध्यता पनि हुन्छ । नयाँ दिल्लीका ग्राफिक डिजाइनर अर्चन घोष धेरै श्रमिकले लकडाउनमा आफूलाई आइसोलेट नगरी निरनतर आफ्नो काममा गएको बताए । किनकी उनीहरुलाई आफ्नो तलबबाट आफ्नो परिवार पाल्नुपर्ने बाध्यता छ । विशेष गरी घरेलु काम गर्नेहरुले दुई वा तीन घरबाट लिएको पैसाले आफ्नो परिवार पाल्ने गर्छन् । उनीहरुसँग नियमित काममा जानुको कुनै विकल्प नरहेको घोष बताउँछन् ।

यद्यपि सबैको अवस्था एउटै भने छैन । पश्चिम बंगालकी घरेलु कामदारको रुपमा काम गर्ने अर्पणा सन्यालको काम तीन महिनाको लकडाउनमा ठप्प रह्यो । आम्दानी बन्द भएपछि उनले मासिक भाडा र बिजुलीको बिल तिर्न ऋण लिनुपर्ने अवस्था आयो । समाचारहरुमा लकडाउनको अवधिमा पनि रोजगारदाताले आफ्नो तलब दिनुपर्ने सुने पनि आफूलाई कसैले नदिएको उनको गुनासो छ । उनीजस्ता धेरै घरेलु तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु यस्तो समस्याको सामना गरिरहेका छन् । तर, लकडाउनको विषयमा उजुरी गर्नेहरुमा भने धेरैजसो शिक्षित, राम्रो ज्ञान भएका र सबै कुरा बुझेकाहरु नै छन् ।

भोकमरीको मार

मानवअधिकारकर्मी मण्डेर अहिले धेरै मानिस केही समय बिरामी परे वा कुनै संकट आए भोकमरीमा पर्ने अवस्था रहेको बताउँछन् । लकडाउनले उनीहरुमा थप समस्या सिर्जना गरेको र सरकारले पनि उपेक्षा गरेको उनले बताइन् ।

महामारीले आफूहरुलाई केही वर्ष पछाडि धकेलेको कम आय भएका भारतीय नागरिकहरु बताउँछन् । लकडाउनको कारण अहिले लाखौं अर्को राज्यमा गएर काम गर्ने मजदुरहरु घर फर्किएका छन्, जसमध्ये अधिकांश पुनः काममा फर्किएका छैनन् । अहिले सबैभन्दा ठूलो प्रश्न अब उनीहरुले के गर्लान् भन्ने हो ।

गत महिना युनिसेफले दक्षिण एसियाका १२ करोड बालबालिका कोरोना भाइरस र लकडाउनको कारण गरिबीमा धकेलिन सक्ने बताएको थियो । प्रतिवेदनमा बालबालिकाहरुले विद्यालय जाने नपाउने, पौष्टिक आहारको कमी, खोप रोकिनु र दुव्र्यवहारजस्ता समस्याको अहिले र आगामी दिनमा पनि सामना गर्नुपर्ने हुन सक्ने उल्लेख छ । अरु विषय जे जस्तो भए पनि यो महामारीले धनी र गरिबबीचको भिन्नता भने स्पष्ट रुपमा छुट्याएको जानकारहरु बताउँछन् ।

स्रोत : सीएनएन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार