‘…अनि ११ जनालाई कोरोना सारेको आरोप मेरो टाउकोमा आयो’

Onlinekhabar

असार १७ गते दिउँसो बल्खुस्थित वयोधा अस्पताल प्रशासनले एक ल्याब टेक्ननिसियनलाई भन्यो, ‘तिम्रो कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ, अरु २ जना पनि संक्रमित भएका छन् ।’

उनी अस्पतालमै थिइन् । मन हडबडाइरहेको थियो । चिकित्सकले काउन्सिलिङ गर्दै भनेका थिए, ‘नआत्तिनु केही हुन्न ।’

उनले पनि आफैंलाई सान्त्वना दिँदै भनिन्, ‘मेडिकल फिल्डमा काम गर्ने मान्छे, यति त सहनुपर्‍यो नि ।’

अनि बुवालाई फोन गरेर सुनाइन् । बुवाले भने, ‘चिन्ता नलिनू, यता हामी ठीक छौं । बरु तिमीलाई कता राख्छन्, आइसोलेसनमा गएपछि फोन गर्नू ।’

बुवाको सान्त्वनाले मन दह्रो भयो । तर आफूलाई कसरी संक्रमण भयो भन्ने प्रश्न बाँकी नै थियो । पछिल्ला दिनमा आफ्नो दैनिक गतिविधि एकएक गर्दै सम्झिइन् । कतै सम्भावित संक्रमितसँग सम्पर्कमा आएको जस्तो लागेन । लक्षण पनि देखिएको थिएन ।

केही दिनअघि अस्पतालमा उपचारत एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । तर उनीसँग प्रत्यक्ष सम्पर्क भएको थिएन । संक्रमण पुष्टि भएका अस्पतालकै बहिरंग सेवाका कर्मचारीसँग पनि उनको सम्पर्क थिएन ।

संक्रमणको स्रोत न उनले अनुमान लगाउन सकिन्, न संक्रमितको स्रोत खोज्ने र कन्ट्याक ट्रेसिङ गर्ने जिम्मेवारी पाएको सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले । ८ दिनमा कोरोना निको भएर उनी घर फर्किसकेकी छन् ।

तर एकाएक गाउँमा ११ जनालाई कोरोना सारेको अपजस उनको टाउको हाल्ने प्रयास भइरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुकी उनलाई संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा परिवारका ७ जना र घरमा भाडामा बस्ने दुई जनामा संक्रमण पुष्टि भयो ।

उनी गएको लुभुको स्वस्तिक फार्मेसीको २ कर्मचारीमा पनि संक्रमण भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अरु व्यक्तिमा संक्रमण बयोधामा काम गर्ने युवतीबाट सर्‍यो कि लुभुका अन्य स्थानीय व्यक्तिबाट उनीमा सर्‍यो भन्ने पत्ता लगाएको छैन । तर उनीमाथि आरोप लगाउनेहरु कम छैनन् ।

यो घटनाले उनलाई निकै मानसिक तनाव दिएको छ ।

कोरोना निको भएपछि हाल घरमै आराम गरिरहेकी उनले आफ्नो तीतो भोगाई अनलाइनखबरलाई यसरी सुनाइन् :

म वयोधा अस्पताल काम गर्न थालेको जम्मा १२ दिन भएको थियो । नयाँ भएकाले घुलमिल भइसकेको थिइनँ । म आफ्नै डिपार्टमेन्ट (ल्याब) मा काम गर्थेँ । अस्पताल र घरबाहेक अन्त आउजाउ पनि थिएन ।

केही दिनअघि अस्पतालमा उपचाररत एक जना बिरामीलाई संक्रमण पुष्टि भयो । त्यही कारण असार १४ गते अस्पतालका १०० जनाभन्दा बढीको पीसीआर टेष्टका लागि स्वाब संकलन गरियो । संक्रमण पुष्टि भएका बिरामीसँग सिधा सम्पर्क नभएकाले हामी घर–अस्पताल आउजाउ गरिरह्यौं । हाम्रो रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा ढुक्क थियौं । १६ गते ममी बिरामी भएर लुभुको स्वस्तिक फार्मेसीमा लगेँ, जहाँ लकडाउन अगाडिसम्म म आफैं काम गर्थेँ ।

तर १७ गते साँझतिर मेरो रिपोर्ट पोजेटिभ आयो र, मलाई सशस्त्र प्रहरी अस्पताल, बलम्बु लगियो । असार २१ गते कन्ट्याक ट्रेसिङको टोली हाम्रो घरमा पुग्यो । चार दिनसम्म हाम्रो घरमा सबै मानसिक तनावमा बसे । मलाई पोजेटिभ आएको खबर गाउँभरि फैलिइसकेको थियो । मेरो कारणले टोल छिमेकका मान्छेहरुले हाम्रो घर देखाउँदै ‘यही घरकी केटीलाई हो कोरोना देखिएको’ भन्न थालेका रहेछन् ।

ममीको फागुनमा पत्थरीको अपरेसन गरेको थियो । एक महिनाअघि लडेर नसा च्यापिएको र टाउकोमा चोट लागेको छ । भाउजु नौ महिनाको गर्भवती हुनुहुन्छ । भाउजुको ५ वर्षे छोरा डाउन सिन्ड्रोम भएकाले भनेको केही बुझ्दैन । यस्तो बिरामी परिवार बसेको घरमा त्यत्रो दिनसम्म कसैले सामानहरु पुर्‍याइदिएनन् । कतिसम्म भने नजिकैको पसलबाट एक जार पानी लगिदिने कोही भएनन् । मानिसहरु घर अगाडिको बाटोसमेत हिँड्न छाडेका छन् ।

डाक्टरले भाउजु सुत्केरी हुने डेट यही महिनाको अन्तिमलाई तोकेका छन् । त्यही बेला उहाँलाई सुत्केरी व्यथा लागेको भए ? कसले आएर सहयोग गर्थ्यो ? सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ । धन्न उहाँलाई त्यो बेला व्यथा लागेन ।

हाम्रो घरका सदस्यहरुको स्वाब झिक्न ४ दिन लाग्यो भने रिपोर्ट आउन थप ५ दिन । भाउजुको रिपोर्ट २४ गते आयो भने अरु ८ जनाको रिपोर्ट २५ गते । म बलम्बु अस्पतालबाट डिस्चार्ज भएर त्यही दिन घर पुगेकी थिएँ । र, परिवारका सदस्यहरु भन्दा छुट्टै बसेको थिएँ ।

हामीले गाडीका लागि धेरै फोन गर्‍यौं तर त्यो दिन आएन । २६ गते दिउँसोतिर एम्बुलेन्स आएर उहाँहरुलाई लग्यो । अहिले उहाँहरु कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा हुनुहुन्छ ।

म संक्रमित भएपछि उहाँहरुको त्यत्रो दिनसम्म भोगेको तनाव सुनाउनसमेत सक्दिन । अहिले त घरका ९ जना मात्र होइन, फार्मेसीका २ जना दाइलाई संक्रमण सारेको आरोप मलाई लागेको छ । जबकी घरको सबै मान्छेसँग मेरो भेटघाट हुँदैन । फार्मेसीमा पनि त्यो दिन ५ मिनेटमात्रै बसेको हुँ ।

मलाई यतिसम्म भनियो कि लुभुका सबैलाई कोरोना सार्ने मै हुँ । मेरै कारणले सबै जना तनावमा भए । यसरी पनि प्रस्तुत गरियो कि, ‘नेपालमा संक्रमण भित्र्याउने मै हुँ, मेरै कारण देशले यत्रो ठूलो संकट भोग्नु परेको छ ।’

मलाई हरेक दिन अनेकौ फोन आए । कसैले ‘भेन्टिलेटरमा हो कि कता’ भनेर सोधे । लुभुतिर पनि ‘तीन दिनसम्म भेन्टिलेटरमा राखेको मर्न लागेकी थिइ रे’ भनेर हल्ला चलाइएछ । यस्तो हुँदा कति तनाव हुन्छ म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

म स्वास्थ्यकर्मीलाई त यस्तो भयो भने अरुलाई झन के होला ? कोरोना संक्रमण भएकै कारण मानसिक तनाव भोग्ने कति होलान् ?

मलाई १७ गते संक्रमण पुष्टि भएको हो, म निको भइसकेँ । तर ममाथि प्रहार रोकिएको छैन । मेरो फेसबुकबाट फोटोहरु तानेर ‘लुभुको संक्रमित केटी यही हो’ भनेर भाइरल गराए । ‘यसलाई चिनिराख्नु होला र यसको घर चिनिराख्नुहोला’ भनेर सामाजिक सञ्जालमा पोस्ट हाल्ने र सेयर गर्नेहरु धेरै भेटिए ।

म काम गर्ने अस्पताललाई समेत बदनाम गर्ने प्रयास भएको छ । अत्ति भएपछि अस्ती धेरै तनाव भयो, दिनभरि रोएँ, दिनहुँ रोइरहन मन लाग्छ । एकदम डिप्रेस्ड छु । कोरोना निको भइसक्यो तर मानिसहरुले दिएको चोटले घायल छु । अत्ति भएर फेसबुकमा एउटा स्टाटस पनि लेखेँ ।

यहाँ त हाँसेर बोल्दा पनि गलत अर्थ निकाल्दा रहेछन्, अनि निराश भएर बोल्दा पनि । बोल्दै नबोल्दा झन् अर्कै सोच्दा रहेछन् । अहिले मलाई त्यही भएको छ ।

म स्वस्थ्य छु । संक्रमण पुष्टि हुनुअघि र पुष्टि भएपछि अस्पताल बस्दा पनि कुनै लक्षण थिएन । स्वास्थ्यमा कुनै समस्या आएन । तैपनि मान्छेहरुले भेन्टिलेटरमा बसेको भन्न भ्याए ।

हौसला दिनेहरु होइनन्, मानसिक तनाव दिने मानिस धेरै भए । मलाई मानसिक तनाव दिनेहरुलाई यो थाहा छैन कि मबाट अरुलाई सर्‍यो कि अरुबाट मलाई ? सम्बन्धित निकायले समेत पुष्टि गर्न सकेको छैन ।

तर सत्य के हो भने लुभुमा मलाई भन्दा अगाडि अरुलाई पनि कोरोना संक्रमण देखिएको थियो र संक्रमण स्रोत भेटिएको छैन । यति हो मलाई संक्रमण पुष्टि हुँदा मेरा घरका सदस्यलाई पनि देखियो । जसको कारण पुरै परिवार तनावमा पर्‍यो । बिना प्रमाण ११ जनालाई कोरोना सारेको आरोप मेरो टाउकोमा आइलाग्यो ।

यथार्थ के हो भन्ने त समयले बताउला । तर मलाई यत्ति थाहा छ, म संक्रमित हुँ अपराधी होइन । तर मैले अपराधी झै व्यवहार भोग्नुपर्‍यो ।

अहिले यत्ति भन्छु, यो महामारी हो । सबैले मिलेर सामना गर्नुपर्छ । धेरैमा लक्षण नभएकाले संक्रमण फेला परेको छैन । त्यसैले हामी जो कोहीलाई संक्रमण हुनसक्छ । आफू सुरक्षित बसौं, अरुलाई अनाआवश्यक तनाव दिने काम नगरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार