लाखौं बालबालिकालाई मजदुर बनाउँदै कोरोना भाइरस

Nepal Samaya

काठमाडौं- कोरोना भाइरसले ल्याएको वैश्विक आर्थिक संकटका कारण बाल मजदुरको संख्या ह्वात्तै बढ्ने एक अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) को एक प्रतिवेदनअनुसार कोरोना भाइरसले लाखौं बालबालिकालाई मजदुरीको दलदलमा धकेल्नेछ। बालबालिकाको भविष्य अन्धरकारमय बनाउने यसको मुख्य कारण कोरोना भाइरसबाट सिर्जित आर्थिक संकट हाे।

कोभिड–१९ एन्ड चाइल्ड लेबर : अ टाइम अफ क्राइसिस शीर्षकको यो प्रतिवेदन विश्व बालश्रम निषेध दिवसको मौकामा जारी गरिएको हो।

प्रतिवेदनअनुसार सन् २००० पछि निरन्तर घट्दै गएको बाल मजदुरको संख्या अब बढ्नेछ। पछिल्लो दुई दशकमा विश्वभर गरिएको अथक प्रयासका कारण बाल मजदुरको संख्या निरन्तर कम भइरहेको थियो।

आईएलओको तथ्यांकअनुसार सन् २००० मा विश्वभर बालमजदुरको संख्या करिब २४.६ करोड थियो। तर, सन् २०१७ सम्म आइपुग्दा यो संख्या १५.२ करोडमा झरिसकेको थियो।

कुल बाल मजदुरमध्ये झन्डै आधा (४८ प्रतिशत) ५ देखि ११ वर्ष उमेर समूहका छन्। जबकि २८ प्रतिशत १२ देखि १४ वर्ष र २४ प्रतिशत बालमजदुर १५ देखि १७ वर्ष उमेर समूहका छन्।

अभिभावकको आम्दानी नभएपछि बालबालिकालाई जोखिमपूर्ण काममा टाढा पठाउने क्रम सुरु हुने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा नेपालको उदाहरण दिँदै परिवार पाल्नै धौ भएपछि घरबाहिर पठाइने यस्ता बालबालिकाको शोषण हुने गरेको बताइएको छ।

२०७२ को महाभूकम्प लगत्तै नेपालमा सार्वजनिक सुरक्षा संयन्त्रले समेत काम गर्न नसक्दा बालबालिकाको तस्करी बढेको र त्यस्तो अवस्था फेरि निम्तिन सक्ने प्रतिवेदनमा चेतावनी दिइएको छ।

नेपालको रेमिट्यान्समा आउने कमी, स्वस्थ्य सेवा लथालिंग हुँदा अभिभावकको मृत्यु, आम्दानीका लागि जिल्ला वा देशबाहिर अभिभावक जानुपर्ने स्थितिले बालबालिकालाई थप जोखिममा पार्ने पनि प्रतिवेदनमा उल्लेख छ।

परिवारको घटदो आम्दानीको सोधभर्ना 

प्रतिवेदन अनुसार विश्वका ५५ प्रतिशत करिब ४ अर्ब मानिससँग अहिलेको आर्थिक संकटबाट पार पाउने कुनै विकल्प छैन। एसियाली विकास बैंक (एडीबी) का अनुसार कोरोना भाइरसले निम्त्याएको संकटका कारण २४.२ करोड रोजगारीका अवसर समाप्त हुनेछन्। यस्तो अवस्थामा विशेष गरी श्रमिकहरुलाई आफ्नो परिवार पाल्नु नै ठूलो समस्या हुनेछ।

आधारभूत सुविधाविहीन आवास र वस्तीमा बस्ने श्रमिकहरुले एकातिर न्यूनतम स्वास्थ्य सुविधा नपाउँदा अप्ठ्यारो व्यहोर्नुपरेको छ अर्कोतिर लकडाउनका कारण हातमा काम छैन।

यसको प्रत्यक्ष असर ती परिवारका बालबालिकामा पर्नेछ जसले सानोतिनो काम गरेर परिवारलाई आर्थिक सहयोग गरिरहेका छन्। त्यस्ता बालबालिकामा अब धेरै समय र जोखिमपूर्ण काम गर्नुपर्ने दबाब पर्न सक्छ।

सेभ द चिल्ड्रेन र युनिसेफकाे विश्लेषणअनुसार वर्षको अन्तसम्म करिब ८.६ करोड थप बालबालिकाले चरम गरिबीको अवस्था व्यहोर्नुपर्नेछ। यस्तोमा गरिबी झेल्ने बालबालिकाको संख्या ६७.२ करोड पुग्नेछ। यी बालबालिकासँग मजदुरी गर्नुबाहेक अन्य विकल्प हुनेछैन।
अध्ययनहरुका अनुसार कुनै देशमा  गरिबी एक प्रतिशतले बढ्छ भने त्यसबाट बालश्रम ०.७ प्रतिशत वृद्धि हुन्छ।

विद्यालय बन्द हुँदाको असर

प्रतिवेदनले विद्यालय बन्द हुँदा पनि बालमजदुरी बढ्ने उल्लेख गरेको छ।

विद्यालय बन्द हुँदा बालबालिकालाई घरेलु र कृषि कार्यमा जान दबाब परिरहेको छ। योभन्दा ठूलो चिन्ता त लकडाउन खुल्यो भने के होला भन्ने छ। किनभने त्यसपछि पनि परिवारको आर्थिक अवस्थामा सुधार हुने छैन, अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन सक्ने छैनन्।

यस्तो अवस्थामा बालमजदुरी बाध्यता बन्न सक्छ। यो महामारीले पहिल्यैदेखि गरिबीसँग जुधिरहेका एसिया र अफ्रिकामा सबैभन्दा ठूलो आर्थिक संकट ल्याउनेछ।

आईएलओले सन् २०१५ मा गरेको अध्ययन अनुसार नेपालमा १६ लाख बाल मजदुर (५–१७ उमेर समूह) छन्। यीमध्ये ३ लाख ७३ हजार बालबालिका जोखिमपूर्ण काम गरिरहेका छन्। यस्तो बेला महामारीले ल्याएको आर्थिक संकटका कारण बाल मजदुरको संख्यामा बढोत्तरी हुनेछ।

बालबालिकामा कोरोना भाइरसको चौतर्फी असर सीमित बनाउनका लागि सामाजिक सुरक्षा योजनाका कार्यक्रममा तीव्रता ल्याउनु जरुरी छ। सेभ द चिल्ड्रेन र युनिसेफले यो संकटबाट पार पाउनका लागि बालबालिका केन्द्रित योजनालाई ठूलो मात्रामा विस्तार गर्न सल्लाह दिएका छन्।

यस्ता कार्यक्रमअन्तर्गत बालबालिकालाई सोझै आर्थिक सहयोग, विद्यालयमा भोजनको व्यवस्था र अन्य लाभकारी योजना सामेल छन्। त्यसैगरी भविष्यमा पनि आउनसक्ने यस्तो जोखिमबाट बच्न बलियो आधार बनाइराख्नु जरुरी देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार