घरघरै पुगेर पढाउँदै शिक्षक

Kantipur Daily

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा शिक्षकहरू लकडाउनमा बालबालिकालाई घरमै पुगेर पढाउन थालेका छन् । दुर्गम गाउँ पिस्कर, चोकटीसम्मका बालबालिकालाई घरमै पुगेर गृहकार्य दिन थालिएको हो ।

वडा शिक्षा समितिले शिक्षकको बैठक डाकेर सुरु गरेको घरदैलो शैक्षिक अभियानअनुरूप गाउँपालिकाभरका ७ सय २० बालबालिकालाई ५५ शिक्षकले पालैपालो पढाउने वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । ‘अन्य पूर्वाधारको काम अगाडि बढे पनि शैक्षिक क्षेत्रजस्तो महत्त्वपूर्ण विषय अलपत्र पर्‍यो, त्यसलगत्तै हामीले यस्तो अभियान गरिरहेका छौं,’ उनले भने ।

त्रिपुरासुन्दरीका फापरचौर, सल्ले–फागुमा तीन जना, डाँडागाउँ, एक्ले खाजिलुङ, चित्रेपाटी, बाघभैरवमा तीन, केउरेनी पात्ले, दुरागाउँमा चार, देउबुजे, काभ्रे, ढुंगापाटीमा चार र बुंगाथलीमा दुई शिक्षक खटिएका छन् । धुस्कुनस्थित महेन्द्रप्रताप माविका प्रधानाध्यापक सुरज भट्टराईसहित शिक्षकहरू बालिबालिकालाई पढाउन खटिएको कोरोना सचेतनाका लागि पात्ले, पांगर्पु पुगेकी नर्स अमिता थापाले बताइन् । ‘बालबालिका र अभिभावकलाई मास्क लगाउन र निश्चित दुरी कायम गरेर काममा जुट्न सचेतना दिएका छौं, अहिलेसम्म कुनै शंकास्पद समस्या देखिएन,’ उनले भनिन् ।

जिल्लाभर शैक्षिक गतिविधि ठप्प भए पनि केही स्थानमा शिक्षक र जनप्रतिनिधिकै पहलकदमीमा अभियान थालिएको हो । अभियानले सुस्ताएको शैक्षिक क्षेत्रलाई केही सुखद वातावरण बनाएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले बताए । ‘अभिभावक र स्थानीय यसप्रति सन्तुष्ट छन्, सरकारबाट प्रस्ट निर्देशन केही नआए पनि स्थानीय तह यसमा तत्पर देखिएका छन्,’ उनले भने ।

जिल्लाभर ५ सय २८ विद्यालयमा झन्डै ६५ हजार बालबालिका छन् । हेलम्बु र इन्द्रावती गाउँपालिकाले नयाँ शैक्षिक अभियान सुरु गर्न छलफलमा जुटेको जनाएका छन् । ‘इन्टरनेटबाट सुरु गर्न सबैतिर नेटवर्क सहज नहुने र शिक्षकबाट पढाउन भौगोलिक विकटता देखिएको छ, यसबारे छलफलमा छौं,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । गाउँपालिका महासंघका सचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले तत्कालै अभियान बनाएर अगाडि बढ्ने बताए । ‘शिक्षक सबै फर्किसकेका छैनन्, उनीहरूलाई क्वारेन्टाइन गर्नुपर्‍यो, अब कसरी अगाडि बढ्ने, चाँडै निर्णयमा जाँदै छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार