कोरोना निको भएको ६ महिनापछि पनि देखिन सक्छन् यस्ता लक्षण

https://www.setopati.com/kinmel/medical/226381

कोरोना संक्रमण भएका अधिकांश मानिसमा छ महिनापछि पनि शरीरमा विभिन्न समस्या देखिएको छ। चीनमा भएको एक अध्ययनअनुसार कोरोना निको भएको आधा वर्षपछि पनि धेरैमा कमजोरी र अनिद्रा जस्ता लक्षण देखिएका छन्। अध्ययनमा चीनको वुहान सहरका १७ सयभन्दा बढी कोरोना संक्रमित समावेश थिए। उनीहरूमध्ये ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएपछि पनि कम्तिमा एक लक्षण बाँकी रहेको पाइएको छ। यसबाट के बुझिन्छ भने, कोरोना लाग्यो भने यसको असर लामो समय रहिरहन्छ। लुप्त समस्याहरूबारे प्रस्ट भइनसके पनि दैनिक जीवनमा असर पार्ने लक्षण लामो समय रहने देखिएको छ। यो विषयमा गरिएको यो अहिलेसम्मकै ठूलो अध्ययन हो जसको प्रतिवेदन शुक्रबार मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित छ।

कोरोना निको भएको छ महिनापछि पनि ६३ प्रतिशत बिरामीमा कमजोरी र २६ प्रतिशतमा अनिद्रा भएको अध्ययनमा देखिएको हो। २३ प्रतिशतमा एन्जाइटी वा डिप्रेसन जस्ता मानसिक समस्या देखिएको छ भने अरू धेरैमा दीर्घकालीन समस्या देखिने सम्भावना छ।  कोरोनाबाट धेरै ग्रसित भएकाको त झन् फोक्सो बिग्रिँदै जाने लक्षण देखिएको अध्येताहरूले बताएका छन्। ‘कोरोना नयाँ रोग भएकाले हामी बल्ल यसका केही दीर्घकालीन असरबारे थाहा पाउँदैछौं,’ डाक्टर बिन कायोले भनेका छन्। चाइना-जापान फ्रेन्डसिप अस्पताल र क्यापिटल मेडिकल युनिभर्सिटीका डा. बिन कायोले यो अध्ययनको नेतृत्व गरेका हुन्। ‘हाम्रो अध्ययनले देखाएअनुसार धेरै बिरामी निको भएर गए पनि लामो समय कोरोनाका केही न केही असर बोकेर बसिरहेका छन्। यसबाट के बुझिन्छ भने, जसलाई धेरै संक्रमण भएको छ, उनीहरूलाई पछिसम्म पनि उपचार वा निगरानीको खाँचो छ,’ उनले भने।

यो मामिलामा प्रस्ट हुन अझै ठूलो समुदायमा र लामो समय अध्ययन गरिनुपर्ने उनको भनाइ छ। थप अध्ययनले लामो समय रहने लक्षणबारे बुझ्न र यस्ता बिरामीको मद्दत गर्न सजिलो हुने उनले बताएका छन्।

संसारभरका वैज्ञानिकहरू कोरोनाले स्वास्थ्यमा पार्ने दीर्घकालीन असरबारे अध्ययन गरिरहेकै छन्। यो असरलाई उनीहरूले ‘लङ कोभिड’ नाम दिएका छन्।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम विभाग (सिडिसी) ले लामो समय रहने लक्षणको सूची पनि सार्वजनिक गरेको छ। यसमा कमजोरी, सास फेर्न गाह्रो हुने, खोकी, जोर्नीहरू र छातीको दुखाइ मुख्य हुन्। यसबाहेक कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, टाउको दुख्ने, डिप्रेसन जस्ता लक्षण पनि लामो समय रहेको पाइएको छ।

‘अधिकांश मान्छे कोरोनाबाट सहजै निको भएर सामान्य स्वास्थ्यमा फर्किन्छन्। तर कोही हप्तौं वा महिनौंसम्म बिरामी भइरहन सक्छन्,’ सिडिसीले भनेको छ, ‘कोरोना सामान्य भएको र अस्पताल भर्ना हुनु नपरेका बिरामीलाई पनि पछिसम्म लक्षण देखिरहन सक्छन्।’

गत अगस्टमा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार करिब १० प्रतिशत कोरोना बिरामीमा १२ हप्तासम्म लक्षण देखिएको छ। तर चीनले अहिलेसम्मकै ठूलो र लामो समय बिरामीलाई निगरानीमा राखेर अध्ययन गरेको हो। त्यसैले यसका नतिजामा बढी विश्वास गर्न सकिन्छ।

यो अध्ययनमा अस्पताल भर्ना भएका र ५७ वर्ष ‍औसत उमेरका बिरामी समावेश थिए। उनीहरू कोरोनाको सुरूआती समय अर्थात् सन् २०१९, डिसेम्बरमै संक्रमित भएकाहरू हुन्। त्यो अवधिमा अस्पतालबाट डिस्चार्ज भएका करिब ७० प्रतिशत बिरामीमा यो अध्ययन गरिएको हो। बाँकीमध्ये कसैको मृत्यु भएको थियो भने कोही गम्भीर मानसिक वा शारीरिक समस्यासँग जुधिरहेका थिए। केही भने अध्ययनमा सहभागी हुन चाहेनन्।

सबै सहभागीलाई उनीहरूका लक्षण मूल्यांकन गर्न केही प्रश्न सोधिएको थियो। उनीहरूको स्वास्थ्य र रगत जाँच गरियो र छ मिनेटसम्म हिँड्न लगाइयो। यी सबै गतिविधिको अध्ययन गर्दै जाँदा एक अप्रत्याशित नतिजा पनि देखियो- करिब १३ प्रतिशत बिरामीको मिर्गौला बिग्रिँदै गएका संकेत देखा परे। कोरोना हुनुअघि उनीहरूको मिर्गौलामा कुनै समस्या थिएन।

यो अध्ययनको नतिजालाई एकदमै सोचविचार गरेर मात्र व्याख्या गर्नुपर्ने इटालीको इन्स्टिच्युट अफ फार्मालोजिकल रिसर्चका अनुसन्धाताले टिप्पणी गरेका छन्। उनीहरू यो अध्ययनमा सहभागी भने छैनन्।

तर चिनियाँ अध्येताका अनुसार कमजोरी, अनिद्रा, एन्जाइटी र डिप्रेसन जस्ता दीर्घकालीन लक्षण यसअघि सार्सका बिरामीमा पनि देखिएको थियो। सार्समाथि गरिएका अध्ययनले ४० प्रतिशत बिरामीमा लगातार तीन वर्षसम्म कमजोरीका लक्षण देखिएका थिए। अर्को अध्ययनले ३८ प्रतिशत सार्सका बिरामीमा १५ वर्षपछि फोक्सो बिग्रिने समस्या पाइएको पनि देखाएको थियो।

(सिएनएनका लागि नेक्टर गनले लेखेको स्टोरीको भावानुवाद)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार