लुम्बिनीमा २९ हजारले लगाए कोभिड भ्याक्सिन

https://www.nayapatrikadaily.com/news-details/59817/2021-02-08

लुम्बिनी प्रदेशमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या २९ हजार पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा खोप लगाउनेमध्ये स्वस्थ्यकर्मीको संख्या ४३ दशमलव २ प्रतिशत रहेको छ । त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको संख्या २२ दशमलव ४ प्रतिशत रहेको छ । स्वास्थ्य संस्थाका अन्य कर्मचारी १४ प्रतिशत रहेका छन् । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा जम्मा २८ हजार नौ सय ५१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रमका आश्रित तथा हेरालु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, एम्बुलेन्स तथा सववाहनचालक, पालिकाका सरसफाइकर्मी, सुरक्षाकर्मी गरी २८ हजार नौ सय ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । भारत सरकारले अनुदानमा दिएको खोप लुम्बिनी प्रदेशमा १४ माघदेखि पहिलो चरण लगाउन सुरु गरिएको थियो ।

रुपन्देहीमा धेरैले लगाए, रुकुममा कम लुम्बिनी प्रदेशमा २५ खोप केन्द्रमार्फत खोप लगाइँदै आइएको छ । पहिलो चरणमा लुम्बिनीमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउन डोज छुट्याइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै खोप लगाउनेको संख्या रुपन्देहीमा रहेको छ भने कम रुकुम पूर्वको रहेको छ । यहाँ ६ हजार सात सय ९१ जनाले खोप लगाएका छन् ।

त्यस्तै, कपिलवस्तुमा दुई हजार दुई सय २६, दाङमा तीन हजार पाँच सय ४६, बाँकेमा चार हजार नौ सय ६७, बर्दियामा एक हजार नौ सय ३१, नवलपरासीमा एक हजार एक सय ५२ ले खोप लगाएका छन् । अर्घाखाँचीमा एक हजार तीन सय ७८, पाल्पामा दुई हजार सात सय १२, गुल्मीमा एक हजार सात सय ४५, रुकुम पूर्वमा तीन सय ८२, रोल्पामा नौ सय ८७ र प्युठानमा एक हजार एक सय ३४ जनाले खोप लगाएका छन् ।लुम्बिनी प्रदेशमा २९ हजार ४० भ्याक्सिन डोज खर्च भएको छ । प्रयोगमा ल्याइएका भ्याक्सिनमध्ये खेर जाने दर न्यून रहेको छ । यहाँ शून्य दशमलव ३१ प्रतिशत मात्रै खेर गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार