नेपालले कोरोना खोप कहिले पाउनेछ ?

www.nayapatrikadaily.com

कोरोनाको खोप साधारण नेपाली जनताको पहुँचसम्म पुग्न सन् २०२१ को जुनदेखि डिसेम्बरसम्म लाग्न सक्ने अनुमान गर्न सकिन्छ

सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता विश्वभरि आतंक फैलाएको नोवल कोरोना भाइरसले हालसम्म साढे १५ लाख मानिसको ज्यान लिइसक्यो । अमेरिकामा मात्र दुई लाख ५० हजार यसैका कारणले मरिसके । नेपालमा पनि कोरोनाले दुई लाख ४३ हजारलाई संक्रमण गराइसकेको छ भने १६ सयभन्दा बढीको ज्यान लिइसकेको तथ्यांक छ । यो भयावह महामारीविरुद्ध खोपको विकासमा धेरै देशले तीव्रताका साथ काम गरे । यसमा चीन, अमेरिका, बेलायत, रुस अग्रपंक्तिमा छन् । जर्मनी, इजरायल, कोरिया, जापान, भारतले समेत गरेर सयौँ सम्भावित खोप विभिन्न चरणका परीक्षणमा छन् । तर, खोप विकास महामारीविरुद्धको युद्धको एउटा चरण मात्र हो । त्यसको वितरणको चुनौती त विश्वसामु छँदै छ ।

विश्व स्वास्थ्य संगठनको यही चुनौतीलाई एक हदसम्म सम्बोधन गर्न कोरोना खोपहरूको विकास भएपछि त्यसको न्यायसंगत पहुँचका लागि यही वर्ष ‘कोभ्याक्स’ नामको अन्तर्राष्ट्रिय सहयोगी पहल शाखा खोलिएको छ । जसको प्रमुख उद्देश्य मध्यम र कम आय भएका मुलुकमा सन् २०२१ को अन्तसम्म कम्तीमा दुई अर्ब खोपको वितरण सुनिश्चित गर्नु रहेको छ । यस पहलमा सामेल हुन विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई आमन्त्रित गरेको छ । कोरोना भाइरसका लागि सयौँ खोपहरू विश्वभरि विकसित भइरहेका छन्, जसमध्ये तीन सयवटा परीक्षणको विभिन्न चरणमा छन् । अहिलेको दृष्टिकोणअनुसार कोरोनाको खोप अर्को वर्षको प्रारम्भमा वास्तविकतामा परिणत हुनेछ ।

अहिले सयौँ सम्भावित खोप प्रयोगअघिको परीक्षणको चरणमा छन् । अहिले ३८ वटा सम्भावित खोप उम्मेदवारहरू चिकित्सकीय परीक्षणको पहिलो चरणमा छन् । यस चरणमा खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न र यसले प्रवद्र्धन गर्ने प्रतिरोधात्मक क्षमताबारे थप जान्नका लागि एउटा सानो समूहलाई जाँच गरिन्छ । त्यसपछि आउँछ दोस्रो चरण । अहिले १७ वटा सम्भावित खोप चिकित्सकीय परीक्षणको दोस्रो चरणमा छन् । परीक्षणको यो चरणमा खोप सयौँ मानिसलाई दिइन्छ । त्यस क्रममा वैज्ञानिकहरूले यसको सुरक्षा र सही खुराक वा कति मात्रामा (डोज) दिने भन्नेबारे परीक्षण गर्छन् । अहिले १३ वटा सम्भावित खोप चिकित्सकीय परीक्षणको सबैभन्दा महत्वपूर्ण तेस्रो चरणमा छन् । हजारौँ व्यक्तिलाई सम्भावित खोप दिएर त्यसको सुरक्षा र प्रभावकारिता यस चरणमा जाँचिन्छ । खोपको साइड इफेक्टलाई पनि होसियारीसाथ जाँच गरिन्छ । जसलाई परीक्षण गर्न एक नियन्त्रण समूह समावेश गरिन्छ, जसअन्तर्गत खोपको साटो शुद्ध पानी (प्लेसेबो) दिइन्छ । तीमध्ये मोर्डेनाको एआरएनए–१२३७, पिफाइजर तथा बायोएनटेकको बिएनटी १६२बी२, अक्सफोर्ड कोभिड–१९ र सिनोभ्याक खोपले उत्साहप्रद नतिजा देखाएका छन् । चीन र रुसका क्रमशः क्यान–सिनो–ब्लो र ग्याम–कोभिड–भ्याक नामका खोपलाई तेस्रो चरणको परीक्षणको नतिजा नआउँदै सीमित प्रयोगका लाागि चाँडै अनुमति दिइएको छ । खोप विकासको अन्तिम चरणमा पुगेका केही प्रमुख खोप र तिनको सामान्य परिचय तल दिइएको छ :

फाइजरको खोप : बेलायतले गत हप्ता अमेरिकन फाइजर र जर्मन बायोएनटेकद्वारा तयार गरिएको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ र हिजो नै यसको पहिलो खेपको खोप लगाउन सुरु भएको छ । एमआरएनए प्रकारको यो कोरोना खोप नयाँ किसिमको हो, जुन पहिलोपटक मानिसमा रोग रोकथामका लागि प्रयोग गरिँदै छ । नयाँ प्रकारको एमआरएनए कोरोना खोपमा कोरोना भाइरसका विभिन्न प्रकारका स्ट्रैन्स र क्लेडसका जेनेटिक कोड (आनुवांशिक तत्व) हरूको टुक्रालाई शरीरमा सुई लगाई शरीरका हजारौँ कोषिका आफँैले खोप बनाउने मेसिनजस्तो काम गर्छन् । शरीरका हजारौँ कोषिकाले आफँै बनाउने खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई कोभिड–१९ विरुद्ध लड्न तयार पार्छ । वैज्ञानिक भाषामा भन्नुपर्दा यो खोपले प्रतिरक्षा प्रणाली बि–सेलले कोरोना भाइरससँग लड्नका लागि एन्टिीबडी बनाउन र टि–सेललाई सक्रिय बनाएर संक्रमित कोषिकालाई नष्ट गर्ने दिशानिर्देश दिई काम गर्छ ।

बेलायतले यो खोपको स्वीकृतिका लागि हतार गरेको तथा सबै नीतिनियम अनुमोदन नगरेको भन्दै युरोपियन युनिएनले त्यसको निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि आपत्कालीन प्रयोगका लागिबाहेक यो खोपलाई स्वीकृति दिएको छैन । त्यस्तै यो खोपको प्रतिकूल समस्याको अझै अनुसन्धान र परीक्षण गर्नुपर्ने सुझाब व्यक्त गरिएको छ । ९५ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब १७ सय पर्ने र दुई डोज तीन हप्ताको अन्तरालमा लगाउनुपर्ने छ । माइनस–७० डिग्रीको बरफमा भण्डारण गर्नुपर्ने हुँदा यो खोप नेपालीको पहुँचभन्दा पर हुन सक्ने सम्भावना देखिन्छ ।

मोर्डना एमआरएनए–१२३७ खोप : यो खोप जसलाई भाइरसको आनुवांशिक टुक्रा सामेल गरेर बनाइएको छ, यसको खोज अमेरिकन कम्पनी मोडर्नाले गरेको हो । ९५ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब ३५ सय पर्ने र दुई डोज एक महिनाको अन्तरालमा लगाउनुपर्ने हुन्छ । माइनस २० डिग्रीको बरफमा लामो समय भण्डारण गर्नुपर्ने, तर केही दिन २–८ डिग्रीको तापक्रममा पनि राख्न मिल्ने हुँदा यो नेपालजस्तो देशलाई उपयुक्त देखिन्छ । तर, यो खोप पनि धेरै महँगो भएका कारण आमनेपालीले खरिद गर्न सक्ने देखिँदैन ।

अक्सफोर्ड–एस्ट्राजेनिका खोप : चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ । करिब ७०–९० प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको यो खोपको एक डोजको करिब पाँच सय पर्नेछ र दुई डोज लगाउनु पर्नेछ । यसलाई सामान्य फ्रिजमा भण्डारण गर्न सकिने र भारतमा पनि उत्पादन हुन सक्ने हुँदा यो खोप नेपालीको पहुँचमा हुन सक्ने सम्भावना देखिन्छ ।

स्पुतनिक–५ खोप : रुसको गमलेया राष्ट्रिय अनुसन्धान केन्द्र र रुसी रक्षा मन्त्रालयले संयुक्त रूपमा विकसित गरेको र आधिकारिक नाम विश्वको पहिलो उपग्रहको सम्मानमा राखिएको यो खोप परिमार्जित गरिएको भ्याक्सिनमा आधारित छ । जुन प्रविधि पहिले पनि विभिन्न रोगका लागि प्रयोग गरिएको छ । यसले क्लिनिकल परीक्षण पूरा गरिसकेको छ । रुसी स्वास्थ्यमन्त्रीका अनुसार खोप ‘अत्यधिक (९० प्रतिशतभन्दा माथि) प्रभावकारी र सुरक्षित’ छ ।

सिनोभ्याक खोप : चीनको परिमार्जित भ्याक्सिनमा आधारित यो खोप ९२ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । धेरै मानिसमा आपत्कालीन प्रयोग गरिएको समाचार पनि आएका छन् । चीनमा अधिक उत्पादन हुन सक्ने र सस्तो उत्पादन मूल्य र नजिक ढुवानीले गर्दा यो खोप नेपालीको पहुँचमा हुन सक्ने सम्भावना छ ।

खोपको विकासमा भएका पछिल्ला विकासक्रम हेर्दा कोभिड–१९ खोपको सम्भावित समयरेखा अनुमान गर्न सकिन्छ । यही महिना अर्थात् डिसेम्बरमा अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) ले आपत्कालीन प्रयोगका लागि सीमित खोपलाई स्वीकृति दिने निश्चितजस्तै छ । त्यसपछि अर्को वर्षको पहिलो महिनामा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ‘जोखिमपर्णू’ जनसंख्या समूह भनेकालाई पहिलो चरणको खोप दिने सम्भावना छ । आगामी मार्च महिनादेखि अमेरिकाबाहिरका जोखिमपूर्ण अवस्थाका बिरामीलाई खोप उपलब्ध गराइने र जुलाईदेखि आमसर्वसाधारणका लागि खोप उपलब्ध हुने सम्भावना छ । सन् २०२२ सम्म विश्वका ७५ प्रतिशतभन्दा बढी जनसंख्यासम्म खोप पुग्ने र यससँगै स्थानीय हर्ड इम्युनिटी हासिल हुने सम्भावना छ । परीक्षण नतिजा सार्वजनिक भएका मार्डेना इन्क र पिफाइजरका दुईवटा खोपमा एमआरएनए नामक जिनमा आधारित प्रविधि प्रयोग भएको छ ।

यी खोपको एउटा समस्या ढुवानी गर्दा निकै बढी चिस्यान गर्नुपर्ने हुन्छ । भण्डारण तापक्रममा कुनै प्रकारको तलमाथि भएमा खोपको प्रभावकारिता घट्ने जोखिम छ । नेपालमा हालसम्म खोपका लागि एक मात्र ठूलो कोल्ड स्टोर छ । यहाँबाट देशका कुना–कुनामा खोप पु¥याउन केही अप्ठेरो हुन सक्ने अनुमान गर्न सकिन्छ । यसमा एउटा सकारात्मक पक्ष के छ भने ०७७ मसान्तसम्म सरकारले विभिन्न जिल्लामा खोप भण्डारणका लागि एक सय ८५ खोप भण्डारण निर्माण गर्ने लक्ष्य लिएको छ । माथिका महत्वपूर्ण खोप प्रयोगको अन्तिम चरणमा रहेको सन्दर्भमा ती खोप नेपालमा कहिले आउला भन्ने प्रश्न पनि महत्वपूर्ण हुन आउँछ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्सले संसारभरका देशलाई खोपको समान वितरण हुने अवस्था सुनिश्चित गरेको छ । नेपाल सरकारले पनि खोप विकास गरिरहेका औषधी कम्पनी र देशहरूबाट औषधी खरिदको प्रक्रिया सुरु गरिसकेको छ । सरकारले भारत, चीन, संयुक्त अधिराज्य र रुसबाट खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । यसरी हेर्दा नेपालले खोप पाउने सम्भावना उच्च छ ।

खोप विकास गरिरहेका कम्पनीका स्रोतअनुसार सन् २०२१ को अन्तिमसम्म विश्वका ८० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सकिनेछ । कोभिड–१९ को खोप भिœयाउन सरकार, खोप निर्माता कम्पनी तथा बहुपक्षीय सहायता नियोगले उपभोगमा ल्याएको स्रोतका आधारमा आगामी ६ महिनाभित्र नेपालका २० प्रतिशत जनसंख्याले कोभिड–१९ को खोप पाउने सम्भावना छ । २० प्रतिशतमा माथि उल्लेख गरेझँै वृद्ध उमेरका मानिस, स्वास्थ्यकर्मी र उच्च जोखिमका मानिस पर्नेछन् । नेपालमा अहिले वृद्ध मानिसको जनसंख्या लगभग २२ लाख, स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण जनशक्तिको संख्या झन्डै १० लाख र सबैभन्दा बढी जोखिममा रहेको मानिसको संख्या १० लाख छ । कोरोनाको खोप साधारण नेपाली जनताको पहुँचसम्म पुग्न सन् २०२१ को जुनदेखि डिसेम्बरसम्म लाग्न सक्ने अनुमान गर्न सकिन्छ ।

(डा. दुलाल क्लिनिकल परीक्षणमा सामेल अनुसन्धानदाता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार