‘जोगिने एक मात्र उपाय सावधानी’

Kantipur Daily

  अतुल मिश्र, फातिमा बानु

काठमाडौँ — सरकारले रोकथामको तयारी र राजधानीवासीले स्वास्थ्य सावधानी नअपनाए उपत्यका कोरोनाको हटस्पट बन्ने चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीमा दुई दिनयता कोभिड–१९ का ८३ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेका अनुसार हाल उपत्यकालगायत मुलुकका अन्य ठाउँमा कोरोना संक्रमणको विस्तार हेरेर घरबाहिर निस्कँदा मास्क लगाउन कानुनी रूपमै अनिवार्य गरिएको छ ।

यसअघि घरबाहिर निस्किँदा मास्कलगायत संक्रमण बचाउको साधन उपयोग नगर्नुलाई दण्डनीय बनाइएको थिएन । ‘राजधानीमा यस्ता पनि संक्रमित देखिएका छन्, जसलाई कहाँबाट रोग सरेको हो थाहा पाउन सकिएको छैन,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा.अनुप बाँस्तोलाले भने, ‘यहाँ भित्रभित्रै संक्रमण फैलिएको छ कि भन्ने कुरासमेत आएकाले जनसाधारणले थप स्वास्थ्य सुरक्षा अपनाउनु आवश्यक छ ।’ उनका अनुसार फाट्टफुट्ट रूपमा भ्रमण इतिहास नभएका, संक्रमितको सम्पर्कमा नआएकाहरूमा रोग देखिनुको अर्थ भित्रभित्रै संक्रमण फैलिएको संकेत हो ।

‘राजधानीमा मुलुककै सबैभन्दा सघन बस्ती छ, यहाँ बचाउको उपाय नअपनाउँदा कोरोना तीव्र गतिमा विस्तार हुने बढी सम्भावना छ,’ डा.पाण्डेले भने, ‘मास्कले करिब ७० प्रतिशतसम्म संक्रमणबाट जोगाउन सक्छ ।’

जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले अब कोरोनासँगै बाँच्न सिक्नुपर्ने औंल्याए । ‘राजधानीवासीले स्वास्थ्य सुरक्षाका उपाय नअपनाए यसको विस्तारलाई रोक्न सकिँदैन,’ उनले भने ।

विज्ञहरूका अनुसार हाल राजधानीमा युवा सबैभन्दा बढी असुरक्षित रूपमा घरबाहिर निस्किएका छन् । युवाबाट बूढापाकामा रोग सर्दा धेरै गाह्रो स्थिति आउने चेतावनी विज्ञको छ । ‘सबैभन्दा बढी भीडभाड हुने उपत्यकामा अव्यवस्थित रूपमा घरबाहिर निस्केकाहरूले आगोमा घिउको काम गरिरहेको औंल्याउँदै डा.बास्तोलाले भने, ‘हामीले व्यवस्थित हुन जति स्वास्थ्य सुरक्षाका कुरा सिक्यौं, त्यसलाई व्यवहारमा अपनाएनौं ।’

हाल राजधानीका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र उपचार गराउन आउनेहरूमा समेत बढी कोराना संक्रमण देखिएको औंल्याउँदै डा.पाण्डेले सर्वसाधारणलाई थप स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । ‘उच्च स्वास्थ्य सुरक्षामा रहेका १४ जना उडान कर्मचारीमा संक्रमण देखिन्छ भने राजधानीको मनपरी हिँडाइमा संक्रमणको विस्तार कसले रोक्न सक्छ ?’ डा.बीसीले भने, ‘पीपीईलगायत उच्च स्वास्थ्य सुरक्षा अपनाइरहेका स्वास्थ्यकर्मी, सेना आदिमा समेत संक्रमण देखिएको अवस्थामा स्वास्थ्य सुरक्षा अभावमा दिनहुँ राजधानीको सडकमा हिँड्नेहरूको अवस्था अत्यन्त जोखिमपूर्ण छ ।’

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ आठ सयदेखि एक हजार जना आइरहेको औंल्याउँदै डा.बीसीले भने, ‘यी सबै होटल, क्वारेन्टाइन र होल्डिङ सेन्टरमा जाँदैनन्, आधाभन्दा बढी सिधा घर जान्छन्, अझै निगरानी गरेनौं भने उपत्यकामा कोरोना विस्फोट कसैले रोक्न सक्दैन ।’

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूमा संक्रमण चुलिए मुलुकको टाउको दुखाइ हुने जनाउँदै डा.बीसीले भने, ‘अत्यावश्यक भए मात्र घरबाहिर मास्क लगाएर निस्किने, दुई मिटरको दूरी कायम राख्ने जस्ता आधारभूत प्रक्रिया सबैका लागि बाध्यकारी बनाउनुपर्छ ।’ यसअघि तीनकुनेका १ सय १८ जनाको नमुना र नख्खुका १ सय १० जनाको संकलित नमुना पीसीआर परीक्षण गर्दा कुनैमा पनि पोजिटिभ देखिएन ।

‘कन्ट्याक्ट ट्रेसिङमा लापरबाही’

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पर्याप्त नहुँदा उपत्यकामा संक्रमण भुसको आगोझैं फैलिनसक्ने विज्ञले बताएका छन् । उपत्यकामा लकडाउन खुकुलो भएपछि घरबाहिर आवतजावत गर्ने, भीडभाड बस्ने, मास्क नलगाई हिँड्नेजस्ता सर्वसाधारणका लापरबाहीले जोखिम बढाएको उनीहरूको भनाइ छ ।

रोग परीक्षण र बिरामीलाई आइसोलेसन गरेर मात्रै संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीले बताए । ‘संक्रमितको सम्पर्कमा आएका व्यक्ति पत्ता लगाएर सकेसम्म लक्षण नदेखिँदै छुट्टै राख्नुपर्छ ताकि उसले अरूलाई नसारोस्, विदेशबाट आएका व्यक्ति कहाँ पुगेका छन्, त्यो सबै ट्ेरस गरिहाल्नुपर्छ,’ उनले भने ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमितसँग सोधपुछ गरेर मात्रै नहुने, संक्रमितले साँचो नबताउने सम्भावना रहने भएकाले यसमा प्रविधिकै प्रयोग गरेर म्यापिङ गर्नुपर्ने उनले बताए । उनका अनुसार काठमाडौंमा जनघनत्व बढी भएकाले समुदायमा संक्रमण फैलिने सम्भावना बढी छ । त्यसैले कन्ट्याक्ट ट्रेसिङमा बल गर्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाएकै कारण सिंगापुर, चीनजस्ता मुलुकले छिट्टै संक्रमण नियन्त्रण गर्न सकेको उनले बताए । ‘नेपालको भौगोलिक अवस्था फरक भएकाले एउटै कन्ट्याक ट्रेसिङ निर्देशिकाले सबैतिर काम गर्दैन,’ उनले भने, ‘विज्ञको सल्लाह लिएर ठाउँअनुसार फरक निर्देशिका र रणनीति बनाएर काम गर्दा रोग नियन्त्रण चाँडै गर्न सकिन्छ ।’

उपत्यकामा संक्रमणको फैलँदो स्थिति हेर्दा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान अर्थात् कन्ट्याक्ट ट्रेसिङ असफल भएको ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए । उनका अनुसार अहिले सबैभन्दा बढी लापरबाही संक्रमित बोक्ने एम्बुलेन्स वा अन्य सवारीसाधनमा भएको छ ।

‘संक्रमित वा शंकास्पद बिरामी बोकेका एम्बुलेन्स दिनैभरि घुमिरहेका छन्, अर्को बिरामी बोक्नुभन्दा पहिले गर्नुपर्ने निर्मलीकरण गरिँदैन,’ उनले भने, ‘यसरी संक्रमणको स्रोत एम्बुलेन्स बनिरहँदा पनि उसको कन्ट्याक्ट ट्रेसिङ भएको छैन, जसले संक्रमितलाई सिधै भेटेको छ, उसको मात्रै पहिचान गर्नु वैज्ञानिक कन्ट्याक्ट ट्रेसिङ होइन ।’

अहिलेको अवस्थामा बाहिरबाट हेर्दा संक्रमणको अवस्था सामान्य देखिए पनि समुदायमा भित्रभित्र संक्रमण फैलिएको उनको अनुमान छ । संक्रमितका परिवार दैनिक उपभोग्य सामग्रीका लागि पुगेका तरकारी, चामल, औषधिलगायत पसलदेखि सम्भावित सबैतिर कन्ट्याक्ट ट्रेसिङका लागि पुग्नुपर्ने उनले बताए । उपत्यकामा व्यापक संक्रमण फैलन नदिन अब सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ मात्रै नभएर ‘एक्टिभ केस फाइन्डिङ’ तिर पनि काम गर्नुपर्छ । ‘ज्वरो आएर, निमोनिया भएर वा छातीरोगसम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएका सबैको स्वाब परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘कोरोनाको लक्षण लिएर आएका वा ट्राभल हिस्ट्री भएका व्यक्तिको मात्रै पीसीआर गरेर अब संक्रमण नियन्त्रण हुनेवाला छैन ।’

संक्रमितको नजिकको सम्पर्कमा आएका व्यक्तिबाहेक विज्ञले भनेजस्तो कन्ट्याक्ट ट्रेसिङमा जान नसकिएको इडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा सोचेजस्तो सजिलो छैन, खर्चिलो पनि उत्तिकै छ,’ उनले भने, ‘स्वास्थ्य सेवा विभागबाट कन्ट्याक्ट ट्रेसिङका लागि एक सय जना प्रशिक्षक उत्पादन गरिएको छ,’ उनले भने, ‘ती प्रशिक्षकले सबै प्रदेश र स्थानीय तहसम्म पुगेर तालिम दिन्छन्, त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा मसिनो ढंगबाट काम हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार