कोरोना भाइरस नेपाल: बालबालिकामा सङ्क्रमण बढ्दो, कसरी जोगाउने

BBC Nepali

नेपालमा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन्।

कुल सङ्क्रमितमध्ये बालबालिकामा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या १४,५०० नाघ्दा १८ वर्षमुनिका करिब २,१०० जनामा सङ्क्रमण देखिएको थियो।

दश वर्षमुनिका सङ्क्रमित बालबालिकाको सङ्ख्या ५०० नाघेको थियो।

अभिभावकलाई आग्रह

हालसालै कोरोनाभाइरसका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा मात्रै नौ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण देखिएका सबै बालबालिका आमाबाबुसँगै भारतबाट फर्किएका रहेको मन्त्रालयले जनाएको छ।

बालबालिकामा सङ्क्रमण बढ्दै जाँदा मन्त्रालय र चिकित्सकहरूले त्यसबारे सचेत रहन अभिभावकहरूलाई आग्रह गरेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धेरैजसो सङ्क्रमित बालबालिकाहरू भारतबाट बाबुआमासँगै आएका वा यता आएपछि सरेका छन्।

बालबालिकामा सङ्क्रमण बढ्दै जानुको कारण उनीहरूलाई हुर्काउने हाम्रो शैली हुन सक्ने उनले बताए।

डा. अधिकारीले भने, “कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउन सङ्क्रमण भएका वा सम्भावित सङ्क्रमित व्यक्तिलाई सन्तानबाट टाढा रहनुपर्छ भन्ने चेत नभएकोले पनि यस्तो भएको हुन सक्छ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार