नयाँ कोरोनालाई खोपले काम गर्छ कि गर्दैन भन्नेमा वैज्ञानिकको चिन्ता

https://www.setopati.com/kinmel/medical/225857

बेलायतमा केही समययता देखिएको कोरोना भाइरसको नयाँ प्रजातिविरुद्ध अहिलेको खोपले काम गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले चासो व्यक्त गरेका छन्।

दक्षिण अफ्रिकाबाट सुरू भएको कोरोना भाइरसको नयाँ प्रजाति केही सातायता बेलायत लगायत अन्य मुलुकमा तीव्र गतिले फैलिएको छ। बेलायतमा त पछिल्लो समय कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा निकै छ।

नयाँ प्रजातिको भाइरस पुरानोभन्दा तीव्र गतिले फैलिने भएकाले यसको संक्रमण दर उच्च भएको वैज्ञानिकहरूले बताएका छन्।

‘दुवै खालका कोरोना भाइरसमा धेरै विशेषता समान भए पनि नयाँ भाइरसको फैलिने दर पहिलेभन्दा बढी छ,’ रिडिङ विश्वविद्यालयका सहायक प्राध्यापक सिमोन क्लार्कलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘नयाँ प्रजातिको भाइरस मानव शरीरमा प्रवेश गरेपछि तीव्र गतिमा फैलिँदै जान्छ।’

उनका अनुसार अहिले प्रयोगमा ल्याइएको खोपले मानव शरीरमा जुन खालको रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ, त्यसले यो नयाँ प्रजातिको कोरोनासँग लड्न सक्छ कि सक्दैन भन्ने यकिन छैन। कोरोना खोप उत्पादक बायोएनटेकका प्रमुख कार्यकारी उगुर सहिन तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जोन बेलले भने यसबारे थप परीक्षण भइरहेको र छ साताभित्र खोपमा आवश्यक सुधार ल्याउन सकिने बताएका छन्।

बेलायतमा देखिएको नयाँ प्रजातिविरुद्ध खोपले काम गर्न सक्ने, तर दक्षिण अफ्रिकामा देखिएको भाइरसलाई भने काम गर्छ कि गर्दैन भन्न नसकिने उनीहरूको भनाइ छ। बेलायतका जनस्वास्थ्य अधिकारीहरू अहिलेको खोपले नयाँ कोरोना प्रजातिसँग लड्न सक्दैन भन्ने कुनै प्रमाण नभएको बताउँछन्।

पछिल्लो समय अमेरिका, बेलायत, क्यानडा लगायत संसारका केही धनी देशहरूले आफ्ना नागरिकलाई कोरोना खोप दिन थालिसकेका छन्। करिब एक वर्षअघि चीनको वुहानबाट फैलिएको कोरोना महामारीले अहिलेसम्म संसारभरि १८ लाखभन्दा बढीको ज्यान लिइसकेको छ।

संसारका विभिन्न देशमा करिब ६० वटा कोरोना खोप परीक्षणमा छन्। तीमध्ये आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय, फाइजर र बायोएनटेक, मोडर्ना, रूसको स्पुटनिक र चीनको सिनोफार्म खोप प्रयोगमा आइसकेको छ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिका र बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना संक्रमण हुँदा मान्छेको शरीरमा भाइरसको मात्रा अत्यधिक हुन्छ। शरीरमा भाइरसको मात्रा जति बढी भयो, संक्रमण दर पनि उति बढ्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार