नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोभिडविरूद्धको खोप युरोप–अमेरिकामा उपयोग हुनेको दाँजोमा बढी उपयुक्त हुने
काठमाडौँ — विशेषज्ञहरूले कोभिड–१९ विरुद्धको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताए । नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोभिडविरुद्घको खोप युरोप–अमेरिकामा उपयोग हुनेको दाँजोमा नेपालका लागि उपयुक्त हुने डा. ठाकुरको दाबी छ ।
विज्ञहरूले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको खोप सम्पूर्ण नेपालीका लागि अपुग हुने भएकाले खोप आपूर्तिको दिगो र विश्वसनीय साझेदारसँग संवाद र निर्भरताका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए । मुलुकलाई सहुलियत मूल्यमा प्राप्त हुने भनिएको कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप हालसम्मको विकासक्रमअनुसार कुल जनसंख्याको २० प्रतिशतका लागि मात्र दिइनेछ । त्यो पनि यो खोप एकै पटकमा नभई चरणबद्ध रूपमा दिइनेछ ।
हाल अन्तिम चरणमा रहेको चीनका ४ र भारतका ३ खोपमा नेपालले विशेष ध्यान दिनुपर्ने औंल्याउँदै डा. ठाकुर भन्छन्, ‘भारत र चीनसँग खोपका लागि दोहोरो सघन संवाद सुरु गर्नुपर्छ । यो संवाद खोपको उपलब्धता, वितरण, तालिम आदिबारे सुनिश्चित हुनुपर्छ ।’ भारतको केही दिनयता छिमेकी पहिलो नीतिअनुसार नेपाल र बंगलादेशलाई खोप सहयोग गर्ने भने पनि कति मात्रा दिनेबारे स्पष्ट भएको छैन । गत साता नेपाल भ्रमणमा रहेका विदेश सचिव हर्षवर्धन श्रृंगलाले भारतमा खोप उपलब्ध हुनेबित्तिकै नेपाललाई सहयोग गर्ने नेपाली अधिकारीलाई बताएका थिए ।
अन्तिम चरणको परीक्षणमा १० खोप गाभीको अनुसार हाल विश्वमा कोभिडविरुद्ध १५४ भन्दा बढी खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोग भइरहेका छन् । यस्तै २१ वटा खोप पहिलो चरणको ट्रायल (परीक्षण) अन्तर्गत स्वस्थ युवा व्यक्तिमा परीक्षण भइरहेको छ ।
यसअन्तर्गत ९ वटा प्रोटिन आधारित, ८ वटा भाइरल भेक्टर, २ वटा न्युक्लिक एसिड र १ वटा भाइरस आधारित खोप छन् । १३ वटा खोपको दोस्रो चरणअन्तर्गत मानिसहरूको ठूलो समूहमा परीक्षण भइरहेको छ । यस्तै १० वटा खोपको कोभिडप्रतिको प्रभाव हेर्न अन्तिम अर्थात् तेस्रो चरणको बृहत् अन्तर्राष्ट्रिय परीक्षणबाट गुज्रिरहेका छन् ।
copied from ekantipur.com