बुटवलको आइसोलेसन अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

सेतोपाटी

  सेतोपाटी संवाददाता

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो।कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले जानकारी दिए।

त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको हो। उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए भने चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।

पुरुषमा पनि कोरोना संक्रमण बाहेक अन्य कुनै स्वास्थ्य समस्या नरहेको थापाले बताए ।यस्तै अस्पतालको आईसियूमा थप १४ उपचाररत रहेका छन्। ती मध्ये २ जनाको अवस्था गम्भिर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको जानकारी डा. थापाले दिएका छन्।योसँगै रुपन्देही जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।रुपन्देहीमा पछिल्लो ३ दिनमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।यसअघि शुक्रबार र बिहीबार ३-३ जना संक्रमितको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार