‘२० प्रतिशतको उपचारबिनै मृत्यु’

Kantipur Daily

काठमाडौँ — नेपालमा कोरोना भाइरसले मृत्यु भएकामध्ये २० प्रतिशतले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपरेको विज्ञहरूले बताएका छन् । कतिपयको त मृत्यु भएपछि मात्र नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार १४ गते कोरोना संक्रमणका कारण ज्यान गुमाएका अछाममा ४५ वर्षीय पुरुषको मृत्युको अर्को दिन मात्रै स्वाब संकलन गरिएको थियो ।

बुधबारसम्म मृत्यु भएका ३० जनामध्ये २१ जनाको मृत्युपछि पीसीआर परीक्षण गर्दा नजिता पोजिटिभ आएको थियो । यो तथ्यांकले कोरोनाले मृत्यु भएका ७० प्रतिशत व्यक्तिले संक्रमणको अवस्था थाहा नपाई मृत्युवरण गरेको जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘चार जनाको क्वारेन्टाइनमै र दुई जनाको आइसोलेसनमै मृत्यु भयो,’ उनले भने, ‘यसरी सरकारकै निगरानीमा क्वारेन्टाइन र आइसोलेसनमा रहे पनि ६ जना अर्थात् २० प्रतिशतले उपचारबिना ज्यान गुमाए ।’ कोरोनाले मृत्यु भएका हरेक तीन जनामध्ये दुई जनाको मृत्युपछि कोरोना पत्ता लाग्नुको कारण सुरुमै परीक्षण गर्न नसक्नु भएको उनको भनाइ छ । ‘यसले त मृत्युपछि मात्रै परीक्षण गर्ने परिपाटी बसेको हो कि भन्ने हुन्छ,’ उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले समयमै परीक्षण नभएका कारण केही व्यक्तिको मृत्युपछि कोरोना पुष्टि भएको स्विकारे । ‘मृत्युपछि प्रयोगशाला प्रतिवेदन आउनुको कारण समयमा नमुना आएन वा हामीले समयमै परीक्षण गर्न सकेनौं,’ उनले भने, ‘हजारौं नमुना थन्किएको अवस्था त जगजाहेर नै छ ।’

हाल देशभर २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने सरकारी तयारी छ । दिनहुँ कम्तीमा १० हजार पीसीआर परीक्षण गर्ने योजना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । तर विज्ञहरूले मृत्युपछि स्वाब संकलन हुने र संक्रमित भएको थाहा लाग्ने अवस्था रहनुले नियन्त्रणको प्रयास प्रभावित हुने बताएका छन् । ‘मृत्युपछि कोरोना संक्रमणको अवस्था थाहा हुनु भनेको संक्रमणको विस्तारलाई कम गर्ने प्रयास असफल रहेको संकेत हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘जटिल स्वास्थ्य स्थिति भए पनि पीसीआर नगर्नु, क्वारेन्टाइन र आइसोलेसनमा राखिएकाप्रति संवेदनशील नहुनु दु:खलाग्दो अवस्था हो ।’ डा. बीसीका अनुसार हालसम्म मृत्यु भएकामध्ये १६ जनामा कोरोना संक्रमणसँगै अन्य रोगसमेत थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जटिल स्वास्थ्य स्थितिका बिरामी अस्पताल ल्याउँदा मृत्युपछि पोजिटिभ रिपोर्ट देखिएको बताए । जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार जनशक्तिको कमी, प्रयोगशालामा किटलगायत सामग्रीको नियमित आपूर्ति नहुनु, संकलित स्वाब प्रयोगशालासम्म पुग्न धैरै समय लाग्नु जस्ता कारणले परीक्षण रिपोर्टमा ढिलाइ भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार