काठमाडौंका सडकमा भोकभोकै मजदुर

Nayapatrika Daily

  प्रकाश धौलाकोटी

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘अब नेपालमा गरिबीकै कारण कोही भोकै पर्दैन, भोकले कोही मर्दैन, यो सरकारको प्रतिबद्धता हो ।’ तर, त्यसको चार दिन बित्न नपाउँदै सप्तरीको कञ्चनरूप नगरपालिका–५, पथरी रामपुर टोलका मलर सदाले खान नपाएकै कारण ज्यान गुमाए ।

स्थानीयका अनुसार उनको घरमा धेरै दिनदेखि चुलो बलेको थिएन । लकडाउन भएको महिना दिनसम्म दुःख–सुख खाए पनि त्यसपछि मलरले खानकै लागि हप्तौँसम्म पर्खिनुपर्ने अवस्था थियो । वडाले राहत दिए पनि त्यसलाई निरन्तरता नदिँदा सदाका दम्पती भोकै परेका थिए । लकडाउनकै बीच छिमेकीले मजदुरी गर्न बोलाएपछि काम गर्न गएका मलरले अर्को दिनको उज्यालो देख्न पाएनन् । आफन्तले चन्दा उठाएर दाहसंस्कार गरे । स्थानीय दलित अधिकारकर्मी भोला पासवान भन्छन्, ‘नगर क्षेत्रमा मुसहर बस्तीको अवस्था सबैतिर उस्तै छ, राहत दिनुपर्ने वडाले समयमा राहत नदिँदा मुसहर भोकभोकै परेका छन् ।’

स्थानीय विश्व सदाका अनुसार वडाध्यक्ष कैलाशकुमार साहले मलरको मृत्यु पनि रोगका कारण भएको भनेर निवेदन दिए वडाबाट २५ हजार रुपैयाँ दिने भन्दै परिवारलाई आश्वासन दिएका छन् । भोकभोकै परेका कारण मलरको मृत्यु भइसक्दा पनि नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको छैन, बल्ल फाराम भर्न लगाएको छ । तर, वडाका जनप्रतिनिधिले भने मुसहर बस्तीबाट राहतको फाराम भराउन पनि शुल्क उठाइरहेका छन् । जनप्रतिनिधिले राहतको तीनपुस्ते फारम भर्न २५ रुपैयाँ शुल्क लिएका विश्वले बताए । गरिबीले भोकभोकै परेका मुसहर परिवारलाई राहत दिनुको सट्टा उल्टै शुल्क उठाएको विषय अरूलाई सुनाए राहत नै नदिने भन्दै धम्क्याएको उनले बताए ।

वडाध्यक्ष साहले भने मलर र राहत वितरणका विषयमा नयाँ पत्रिकासँग कुरा गर्न मानेनन् । एक वडा सदस्य भन्छन्, ‘हामीलाई वडाले भत्ता दिएको छैन, हामीलाई लेख्न आउँदैन, अरूलाई फाराम भर्न लगाउनुपर्छ, आफूले पनि चियाखाजा खानुपर्छ, त्यो पैसा कसरी खर्च गर्ने ?’ नेपाली वेलफेयर सोसाइटी युकेले पठाएको राहत लिएर गाउँ पुग्दा वडा सदस्य आफैँ बसेर फाराम भर्न पैसा असुलेको देखेपछि आफू अचम्मित परेको अधिकारकर्मी पासवान बताउँछन् ।

नगरपालिकाका मेयर वसन्तकुमारले मलरको मृत्यु भोककै कारण नभएको दाबी गरे । ‘हामीले पहिलो चरणमा प्रदेशबाट आएको १५ लाख र नगरपालिकाको ४३ लाख रुपैयाँ राहत वितरणमा खर्चिएका छौँ, राहत नपाएर, खान नपाएर मर्‍यो भन्ने हल्ला मात्रै हो,’ उनले भने, ‘घटनालाई अनावश्यक प्रचार गरियो । मलर दमको रोगी थियो, त्यसैले मरेको हो ।’

भोकै सडकपेटीमा सुतेका सूर्यबहादुर कहिल्यै उठेनन्

धादिङका सूर्यबहादुर तामाङ कीर्तिपुरमा भारी बोक्थे । दिनभरि भारी बोक्ने उनी साँझ परेपछि पाटीपौवा र मन्दिरमा ओत लाग्थे । दिनभर भारी बोकेर साँझको जोहो गर्ने उनलाई लकडाउन भएपछि साह्रै गाह्रो पर्‍यो । कोरोनाले उनको काम मात्रै खोसिएन, पैसा भए किनेर खाने, नभए मागेर, काम गरेर खाने बजार–पसल पनि बन्द भए । लकडाउन भएपछि उनको भोक संघसंस्थाले बाँडेको खानामा टिक्यो । पाए खान्थे, नपाए भोकै सुत्थे । गत आइतबार अघिल्लो साँझ भोकै सुतेका उनी फेरि कहिल्यै नउठ्ने गरी सडकपेटीमै पल्टिए । स्थानीय एक वृद्ध भन्छन्, ‘सहज हुन्जेल सबैलाई सघाउँथ्यो, अहिले भोकभोकै मर्‍यो । मंगल बहुमुखी क्याम्पसअगाडि आइतबार बिहान उनलाई मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने तामाङको मृत्यु भोकले नभई रोगले भएको दाबी गरे ।

काठमाडौंको कालीमाटीमा विष्णुमती खोलाको निर्माणाधीन पुलमुनि एउटा कुनामा वरिपरि प्लास्टिक र बोराले बेरिएको छ । भुइँमा एउटा प्लास्टिकको फर्म ओछ्याइएको छ । डेढ महिनादेखि त्यसैमाथि पल्टिएका छन्, रामेछापका ५५ वर्षीय हिमाल माझी । झन्डै २० वर्षदेखि एक्लै यहाँ बस्ने उनले कमाएर भाडा तिर्न नसकेपछि खुला आकाशमै रात काट्न थाले । भारी बोकेर दैनिकी चलाउने उनको लकडाउन भएपछि रोजीरोटी त खोसियो नै, खान नपाएपछि आफ्नै खुट्टाले पनि भर दिएनन् । अहिले उनका दुवै खुट्टा सुन्निएका छन्, हिँड्डुल गर्न सक्दैनन् । ‘कसैले यहीँ ल्याइदिए खान्छु, नत्र वरपर गर्न पनि सक्दिनँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘कसैले अस्पताल लगिदिए पनि हुन्थ्यो, आफैँ जाऊँ भने पैसा छैन ।’ लकडाउन हुनुअघि उनी कालीमाटीको सिसी पसलमा भारी बोक्थे । त्यहाँ काम नहुँदा वरपर तरकारी र किराना पसलका सामान ओसार्थे । दिनभर कमाउँदा बेलुकीको छाक टथ्र्यो । ‘बजार–पसल सबै बन्द भए, दुवै खुट्टा पनि चल्दैनन्, मलाई त श्वास टिकाउनै गाह्रो भइसक्यो,’ उनले भने ।

उनीसँगै छेउमा बसेका थिए, सिन्धुलीका प्रेमबहादुर लामा । उनको परिवार छैन, कोठा पनि छैन । लकडाउन भएपछि गर्दै आएको भारी बोक्ने काम पनि गुम्यो । त्यसयता त्यही पुलमा कसैले खानेकुरा ल्याइदिन्छ कि भनेर पर्खेर बसिरहन्छन् । भन्छन्, ‘कहिले ल्याउँछन्, कहिले ल्याउँदैनन्, खान पाउँदा धेरै खायो । नपाउँदा भोकै सुत्छु ।’

यो पुलवरिपरि दैनिक दुई–तीनपटक खाना–खाजा र पानी लिएर स्वयंसेवीका गाडी रोकिन्छन् । तर, सरकार त्यहाँ कहिल्यै पुग्दैन । बरु खाना खान सडकपेटीमा बसेकाहरूलाई पुलिसले लट्ठी लगाएर धपाउँछ । नजिकै कुखुरा पसल गर्ने सीता तामाङ भन्छिन्, ‘यही पुलवरिपरि मात्रै झन्डै दुई सय मान्छे छन्, लकडाउनले यिनीहरूको बिजोग भयो ।’ यहाँ अरूले ल्याएर दिएको खानेहरू साँझ यही पुलवरिपरि सुत्छन् । महिला र बुढाबुढीचाहिँ चोरको डरले कालीमाटी प्रहरीको छेउमा गएर अडेस लाग्छन् ।

छोराको उपचार गर्न आएकी प्युठानकी डल्ली पुन पनि कालीमाटीमै बस्छिन् । तर, कोठामा खानेकुरा छैन । कालीमाटी पुलमा भात थापेर कोठा फर्किंदै गरेकी उनी भन्छिन्, ‘अस्ति–अस्ति आफैँसँग भएको खाइयो, अब छैन, मागौँ भने कसलाई माग्नू ? अहिलेचाहिँ भाँडो लिएर यहाँ आउँछु, आमाछोरालाई पुग्ने मागेर लैजान्छु ।’

दोलखाका भीमबहादुर लामा वसन्तपुर दरबार क्षेत्रमा प्लास्टिकमा चिउरा राखेर खाँदै थिए । उनी काठमाडौं आएर भारी बोक्न थालेको ४० वर्ष भयो । ‘योभन्दा पहिले त यस्तो कहिल्यै भएन, यसपालिचाहिँ बाँच्नै मुस्किल पर्ने भयो,’ उनले भने, ‘कहिलेकाहीँ भातै ल्याइदिन्छन्, आजचाहिँ चिउरा रहेछ, हिजोदेखि केही खाएको छैन ।’ काठमाडौं महानगरपालिकाले राति सुतिरहेको ठाउँबाट उठाएर आफूहरूलाई आश्रम लगेको उनले बताए । तर, लकडाउन भएको धेरै दिन बितेपछि उनीलगायतलाई पुनः सडकमै छाडिदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार