रोगको भन्दा भोकको डर : कृषकको तरकारी बारीमै

Kantipur Daily

  लीला श्रेष्ठ, सीमा तामाङ, प्रशान्त माली

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा कामविहीन भएका कोहीले सडकमा मागेर पेट भरिरहेका छन् । कोही राहतको भरमा छन् । केहीले ऋण गरेर घर खर्च चलाइरहेका छन् । घर भाडा तिर्न नसकेकाहरू हजारौं छन् । कृषकले उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन् । उनीहरूलाई अहिले रोगको भन्दा पनि भोगको चिन्ताले सताएको छ ।

सिन्धुपाल्चोक मुडेका ज्ञानीमाया र पासाङ दम्पती ज्यामी काम गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर सरकारले चैत ११ बाट लकडाउन गरेपछि डेरामै थुनिए । कमाइ ठप्प भयो । उनीहरूलाई बिहान/साँझ हातमुख जोड्न मुस्किल पर्दै गयो । ‘चैतदेखि घर भाडा तिर्न सकेको छैन, रासन सकिसक्यो,’ ज्ञानीमायाले भनिन्, ‘रोगले होइन, भोकले पो मरिएलाजस्तो हुन थालेको छ ।’

लकडाउनकै बेला गाउँका आफन्त र साथीभाइ हिँडेर जाँदा उनीहरूले पनि जान नचाहेको होइन तर छोरी बिरामी भएपछि उनीहरू गएनन् । तीन जनाको परिवार सूर्यविनायक–८ आदर्श हाइटमा बस्छ । छोरी टन्सिलको बिरामी छिन् । ‘पहिले एपेन्डिक्स बिग्रिएर छोरीको उपचार गरेका थियौं, पछि टन्सिल बिग्रिएर अप्रेसन गर्दा डेढ लाख सकियो । डाक्टरले अझै अप्रेसन गर्नुपर्छ भनेका छन्,’ ज्ञानीमायाले भनिन् । लकडाउनका कारण काम गर्न नपाएपछि छोरीको उपचारसमेत गराउन नसकेको उनले बताइन् ।

भक्तपुर नगरपालिका–९ सूर्यमढीकी गंगा दुवालले २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर सासू र देवर गुमाइन् । जग्गा बेचेको रकमले समेत घर बनाउन नपुगेपछि गंगाका श्रीमान् वैदेशिक रोजगारका लागि कतार हानिए । उनी कोभिड–१९ महामारी सुरु भएपछि कतारमा कामविहीन भएका छन् । ‘श्रीमान्कै कमाइबाट ४ छोरीसहित ६ जनाको परिवारको गुजारा चलाएका थियौं,’ गंगाले भनिन्, ‘तीन महिनादेखि श्रीमान्को पनि काम बन्द भयो रे ।’ सरकारले वैदेशिक रोजगारका लागि विदेश गएर कामविहीन बनेकाहरूलाई ल्याउने प्रक्रिया सुरु गरेकाले छिट्टै श्रीमान् फर्किने आस उनले गरेकी छन् ।

गंगा एक निजी विद्यालयमा आयाको काम गर्थिन् । विद्यालय बन्द भएपछि उनी पनि कामविहीन भएकी छन् । ‘चारै जना छोरी पढ्दै छन्, आम्दानी केही छैन,’ उनले भनिन्, ‘खेती गर्नलाई पर्याप्त जग्गा छैन, सबै थोक किनेरै खाने हो ।’ भूकम्पले ढालेको घर बनाएर चारवटा कोठा भाडामा लगाए पनि भाडा उठेको छैन । ‘लकडाउनअघि नै घर भाडामा बस्नेहरू गाउँ गएका छन्, फर्किएका छैनन्,’ उनले भनिन्, ‘घर भएरमात्र के गर्नु, घरले खाना दिँदैन ।’

लकडाउनमा उपत्यकाका स्थानीय तहले पहिलो चरणमा राहत बाँडेको, दोस्रो चरणका सामूहिक मेस सञ्चालन गरी खाना खुवाएको र तेस्रो चरणमा श्रममा आधारित राहत दिइरहेको दाबी गरेका छन् । दैनिक मजदुरी गर्ने, अपांगता भएका तथा असहायहरूको रासनपानीमा समस्या नभए पनि उनीहरूले घर भाडा तिर्न सकेको छैन । महामारीको अवस्थामा न घरधनीले भाडा माग्न सकेका छन् न बहालमा बस्नेले तिर्न नै सकेका छन् । ‘घर भाडा नपाएको चार महिना भयो,’ मूलपानी पीपलबोटका कुमार श्रेष्ठले भने, ‘कोठामा बस्ने सबै जना काममा गएका छैनन् । कोहीको श्रीमान् विदेशमा छन् । उता पनि काम छैन भनेर पैसा पठाएका छैनन् रे । भाडा कसरी माग्नु ?’ उनी पनि तरकारी व्यापार गर्थे तर आफ्नो साधन नभएपछि तरकारी फार्म र बजारसम्म जान आउनै नपाएको उनले सुनाए ।

दोस्रोपटक लकडाउन थपिएपछि सर्वसाधारण गाउँ फर्कन थाले । तेस्रोपटक लकडाउन थपिनुअघि नै खुकुलो हुनेमा विश्वस्त थिए । तर बढ्दै गएपछि मजदुर वर्ग मारमा परेका छन् । रङ लगाउने काम गर्ने सिन्धुलीका सुन्दर तामाङ काम नपाएपछि हरेक दिन सडकमै मागेर खाइरहेका छन् । उनीहरू वीर अस्पताल अगाडि खुलामञ्चमा बसेका हुन्छन् । ‘काम नभएपछि खाना खाने पैसा छैन । बिहान उठेर सडकमा आउँछौं । जसले जे दिन्छ, त्यही खान्छौं,’ उनले भने, ‘साँझमा पनि अरूले दिएको खाना खाएपछि हामी कोठा फर्कन्छौं ।’ लकडाउनको अवधिमा फुटपाथ व्यापारी, विद्यार्थी, मजदुर, श्रमिकदेखि व्यवसायीहरूसम्म मारमा परेका छन् ।

सोह्रखुट्टेका ट्याक्सी चालक रामकुमार राईले जसोतसो गुजारा चलाइरहे पनि घर भाडा तिर्न सकेका छैनन् । ट्याक्सीको मासिक २८ हजार रुपैयाँ किस्ता तिर्नुपर्थ्यो । तीन महिनादेखि किस्ता तिर्न नसकेको उनले बताए । ‘अलिअलि भएको पैसाले घरको चुलो बालिरहेका छौं,’ उनले भने, ‘लकडाउन यसरी बढ्दै गयो भने गुजारा चलाउन पनि गाह्रो हुन्छ । ट्याक्सी नचलाएसम्म पैसा आउँदैन, अरू कुनै स्रोत छैन ।’

बुद्धनगर बस्ने महेन्द्र राम बानेश्वर चोकमा जुत्ताचप्पल सिलाएर गुजारा चलाउँथे । भारत स्थायी घर भएका राम फर्कन सक्ने स्थिति छैन । ‘भारत फर्कन एक जनाबापत १४ सय रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘पाँच जना छौं, एक्लै जाने कुरा हुँदैन, सात हजार रुपैयाँ हामीसँग छैन ।’ उनले तीन महिनादेखि घर भाडा तिरेका छैनन् । उनले जुत्ताचप्पल नै सिलाउन पाएका छैनन् । मासिक १० हजार घर भाडा तिर्नुपर्ने भए पनि उनले दिन सकेका छैनन्, घरधनीले पनि माग्न सकेका छैनन् । एक सातादेखि जुत्ता सिलाउन चोकमा निस्के पनि कोही ग्राहक नआउने गरेको उनले बताए । ‘मुस्किलले हिजो २ सय रुपैयाँ कमाइ भयो,’ उनले भने, ‘आज त त्यो पनि छैन ।’ लकडाउन अवधिभर नयाँ बानेश्वर र बुद्धनगरका स्वयंसेवी र वडा कार्यालयबाट राहत पाएको उनले बताए । तीन छोरा र श्रीमती उनकै कमाइको भरमा बाँच्छन् ।

ललितपुरको लबिम मलको सुप्रिम फेसनकी सञ्चालक अनुराधा श्रेष्ठले भदौदेखि पसल सञ्चालन गरेकी थिइन् । मलमा उनको समूहका दुई वटा पसल छन् । अन्य देशबाट जुत्ता र झोला बेच्ने गरेकी श्रेष्ठले लकडाउनका कारण पसलमात्र बन्द नभएर सामानसमेत बीच बाटोमै अड्किएको बताइन् । लबिम मलले अहिलेसम्म भाडा छुट घोषणा गरेको छैन । ‘छुट माग्न पनि गाह्रो छ, उनीहरूले पनि ऋण लिएर नै सुरु गरेका होलान्,’ उनले भनिन् । मासिक ३ देखि ४ लाख रुपैयाँ सुरुवातमै तिर्नुपर्ने भए पनि तीन महिनादेखि भाडा नतिरेको उनले बताइन् । ‘घरको भाडा पनि तिर्न सकेका छैनौं,’ उनले भनिन् । सरकारले कर्मचारीलाई पनि तलब दिनुपर्छ भनेको छ । उनले आफ्ना तीन जना कर्मचारीलाई अलिअलि तलब दिइरहेको सुनाइन् ।

नयाँ बानेश्वरको फुटपाथमा तरकारी बेच्ने ५९ वर्षीया तारा कोइराला पनि समस्यामा छिन् । उनी लकडाउनका चार दिन हिँडेरै मूलपानी पुगेर तरकारी ल्याइन् । अहिले उनी तीनकुनेबाट तरकारी ल्याएर बेच्छिन् । मूलपानी गएर तरकारी ल्याउँदा जति कमाइ तीनकुनेबाट ल्याउँदा नहुने उनले बताइन् । कोइरालाले मासिक ९ हजार रुपैयाँ भाडा तीन महिनादेखि तिरेकी छैनन् । ‘घरधनी हुनुहुन्न, आउनुभयो भने माग्नुहुन्छ होला,’ उनले भनिन् ।

‘उपचार खर्च जुटाउनै सकिएन’

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० बगुवा शिखरपुरकी १६ वर्षीया विनिशा बस्नेत चार वर्षदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलसिस गराइरहेकी छन् । खर्च जुटाउन नाङ्लो व्यापार गर्दै आएकी विनिशाकी आमा लकडाउनपछि कामविहीन छन् । ‘छोरीको उपचारका लागि सहयोग जुटाउन गाउँ गएकी थिएँ, उतै रोकिएँ,’ विनिशाकी आमा विमलाले भनिन्, ‘बल्लबल्ल फर्किएँ । लकडाउनले व्यापार गर्न सकेकी छैन ।’ केही सहयोग मिले पनि लकडाउन थपिँदै जाँदा आर्थिक समस्याले गाँजेको उनले बताइन् ।

विनिशाको डायलसिसकै लागि आमा–छोरी डेरा बसिरहेका छन् । ‘मिर्गौलापीडितको डायलसिसकै लागि अस्पताल धाइरहनुपर्ने रहेछ,’ विमलाले भनिन् ।

कृषकको तरकारी बारीमै

ललितपुर लेले कोटडाँडाकी साइँली तामाङले चार रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा पशुपालन र तरकारी खेती गरेको ६ महिनामात्र भयो । व्यवसाय गर्न ६ महिनाको भाका राखेर सहकारीबाट २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । मासिक १० हजार रुपैयाँका दरले बुझाउनुपर्छ । लकडाउनयता तरकारी नबिक्दा सहकारीको किस्तासमेत तिर्न नसकेको उनले बताइन् । ‘तरकारी बारीमा कुहिन थालेको छ,’ उनले भनिन्, ‘अलिअलि बिक्री भयो भने पनि दाम राम्रो पाइँदैन ।’ कोटडाँडाकै लक्ष्मी भुलनले ६ रोपनी जग्गा भाडामा लिएर दूध र तरकारी व्यवसायी गरेकी छन् । लकडाउनले उनको पनि तरकारी गाउँमै थन्किएको छ । ‘तरकारी गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यता भयो,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार